बुद्धशान्ति गाउँपालिकामा भ्यूटावर, केवलकार र बञ्जि जम्प

विराटनगर, माघ २५ । झापाको बुद्धशान्ति गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न योजनाहरु अघि सारिएका छन् । इलाम जिल्ला सँग सिमा जोडिएको पूर्वी उत्तर झापाको सो गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न संरचना निर्माणका योजना बनाईएका छन् ।
सो गाउँपालिकाको वडा नम्वर ७ स्थित धारागोलामा भ्यूटावर निर्माण गरिएको छ । आर्थिक वर्ष २०७१/०७२ को योजना रहेपनी चालु आर्थिक वर्षबाट सञ्चालनमा ल्याइने गरि उक्त भ्यूटावर निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेलले बताए ।
null
उनले भ्यूटावर गाउँपालिकाको १ करोड रुपैयाँको लागतमा पार्कसहित निर्माणको योजना रहेको जानकारी दिए । ‘यहाँबाट विभिन्न स्थानहरुको राम्रो दृष्य देख्न सकिन्छ । यो झापाको सवैभन्दा अग्लो स्थान पनि पर्छ । त्यसैले उचाइका कारण भ्यूटावरको अवधारणा ल्याएका हौँ । वैशाखदेखी सवै काम सम्पन्न गरेर सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ उनले भने ।
हाल सम्म भ्यूटावर निर्माणमा ५० लाख भन्दा बढी बजेट खर्च भईसकेको वडाध्यक्ष पौडेलले बताए । निर्माणधिन अवस्थामै रहेपनि सो भ्युटावरबाट दृष्यावलोकनका लागि यतिवेला पर्यटकहरु विभिन्न स्थानबाट आउने गरेका छन् । तिनतले सो भ्यूटावरबाट विर्तामोड बजार, झापाका विभिन्न स्थान, भारतको सिलगढी र इलामका रमणीय दृष्य प्रष्टरुपमा देख्न सकिने भएकाले त्यहाँ पुग्ने पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ ।
मोरङ विराटनगरबाट दृष्यावलोकनका लागि पुगेका प्रल्हाद पाण्डेले भ्यूटार प्राकृतिक रुपले शुन्दर ठाउँमा निर्माण गरिएकोले राम्रो दृष्यावलोकन गर्न सकिने बताए । उनले भने ‘भ्यूटार प्राकृतिक रुपमा शुन्दर ठाउँमा निर्माण गरिएको रहेछ, जहाँबाट झापाका धरै ठाउँ, इलाम र भारतको सिलिगढीसम्म राम्रोसँग देख्न सकिने रहेछ ।’
त्यस्तै सोही वडाको जरेवरमा प्रदेश सरकारको ३० लाख रुपैयाँ लगानीमा पर्यटकीय पार्क निर्माण गरिने भएको छ । ‘सुसाइड प्वाइन्ट’का नामबाट परिचित जरेवर क्षेत्रमा घेरवार सहितको पार्क निर्माण गरिने भएको छ । सो स्थानको तिमाई खोलामा नेपालकै सवैभन्दा अग्लो स्थानको झोेलुंगेपुल निर्माण गरिने छ भने साहसिक बञ्जी जम्प पनि सञ्चालनको योजना रहेको र त्यसका लागि डिपिआर गरेर संघिय सरकारलाई पठाइएको वडाध्यक्ष पौडेलले बताए ।
उनले भने ‘यो जरेवर क्षेत्रमा पर्यटकीय पार्क निर्माण हुन्छ, जसका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यहाँ नेपालकै अग्लो स्थानको झोलुंगे पुल बनाउने गरि पुल महाशाखामा योजना पठाएका छौँ र बञ्जी जम्प पनि सञ्चालन गर्ने योजना छ ।’
वडाध्यक्ष पौडेलले पर्यटनको प्रयाप्त सम्भावना रहेको सो गाउँपालिकाको तामाकोट बाट इलामको रोङ गाउँपालिकामा पर्ने सानो पाथिभरा मन्दिर सम्म ३ किलोमिटर केवलकार सञ्चालन गर्ने योजना समेत रहेको बताए ।
तस्विर किशाेर विश्वकर्मा








