सुदूरपश्चिममा माला आन्दोलन १३ वर्षमा

माघ २१, धनगढी । सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै सांकेतिक माला आन्दोलन सुरु भएको थियो । कैलाली उद्योग वाणिज्य संघको आयोजना हुने सुदूरपश्चिम महोत्सव मार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी सुरुवात भयो ।
यो बर्षपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएपनि काम विशेषले प्रधानमन्त्री नआउने भएपछि अव मुख्यमन्त्रीलाई माला आन्दोलनमा सरिक गराउने तयारी भईरहेको छ । सोमवारदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवसँगै सांकेतिक माला आन्दोलन सुरु भएको पनि १३ बर्ष पुगेको छ ।
null
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिमवासीको गह्रुंगो माला पहिरने १३ औँ नेता हुने तयारीमा छन् । यसअघि पुर्व प्रधानमन्त्री देउवासँगै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, एमाले नेता भीम रावल, नारदमुनी राना लगायतले सुदूरपश्चिमबासीले लगाएको गह्रुंगोे माला पहिरिसकेका छन् ।
गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विकास गरिनुपर्ने, प्रदेश नम्वर ७ मा उद्योग स्थापना प्रोत्साहन स्वरुप १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा गरिनु पर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने, विशेष औद्योगिक क्षेत्रको स्थापना र विशेष औद्योगिक प्याकेजको ब्यबस्था गरिनुपर्ने मागहरु माला आन्दोलन मार्फत उठाइदै आइएको छ ।
यसैगरी प्रदर्शनीस्थलको निर्माण गरिनुपर्ने, अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण गरिनुपर्ने, प्रदेश नं. ७ लाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने, पश्चिम सेती जलविद्युत आयोजना निर्माणको शिघ्र कार्यान्वयन र प्रदेश नं. ७ लाई लोडसेडिङमुक्त गरिनुपर्ने, प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।
यसका अलावा कृषि विश्वविद्यालयको स्थापना, प्रदेश सभा सम्मेलनगृहको स्थापना, प्रदेश सांस्कृतिक संग्रहालय निर्माण, चिसापानीदेखि गड्डाचौकी सम्म वन जङगल नरहेका पुराना बजारहरुको जग्गा दर्ता, सूचना प्रविधि क्षेत्रको स्थापना, चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणको कार्यान्वयन सेती अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनुपर्ने, लगायत माला आन्दोलन मार्फत माग गरिएको थियो ।
यी मध्ये केहि मागहरु संवोधन भए, केहि संवोधनको क्रममा छन् भने केहि संवोधन भएका छैनन् ।








