बालिका बलात्कार प्रकरणः एक महिना बित्याे, नियन्त्रणमा आएनन् दोषी

 

फागुन १०, चितवन । अपरिचित व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएका राप्ती नगरपालिका १३ कान्दाका दुई बालिकाहरु उपचारपछि अहिले घर फर्किएका छन् । तर दोषी भने बेखबर छन्, अझै पत्ता लाग्न सकेको छैन । 

घटना भएको केही दिनमै प्रहरीले दोषीको पहिचान भइसकेको दाबी गरेको थियो तर, एक महिना बितिसक्दा समेत दोषीलाई सार्वजनिक गर्न सकेको अवस्था छैन । 

null

अधिकारकर्मी मीना खरेलले यसअघिका घटनामा चितवन प्रहरीले राम्रै काम गर्दै आएपनि कान्दा घटनाको विषयमा प्रहरी गम्भीर नदेखिएको आरोप लगाइन् । उनले भनिन्, ‘चितवन प्रहरीले जिल्लामा जति घटना भए प्रायः सबै घटनाका दोषी पत्ता लगाएकै हुन् तर, कान्दा घटनामा भने चित्त बझ्दो काम भएको देखिएन । प्रहरीले अझै सक्रियता बढाउन आवश्यक छ ।’ 

घटनाको प्रकृति हृदयविदारक भएपनि घटना अनुसारको अनुसन्धान नभएको उनले बताइन् । अपराधी नजिक पुगिसकेको बताएको प्रहरीले अहिलेसम्म पनि दोषी पक्रन नसक्नुमा सबैको चिन्ता र चासो बढ्दै गएको उनको भनाइ छ । 

सामाजिक अभियन्ता एकल सिलवाल सुरक्षा निकायले न्यायको पक्षमा काम गर्दा भूगोल, जाति र वर्गलाई हेर्न नहुने बताउँछन् । कान्दा घटनामा यही बहानामा प्रहरी पन्छिन खोजेको उनको बुझाइ छ । ‘टाढाको बस्ती अपराध गर्नेलाई स्वर्गजस्तो र पीडकलाई नर्कजस्तो लाग्नबाट प्रहरी सधैँ सचेत हुनुपर्छ’ मितेरी फाउन्डेसनका अध्यक्षसमेत रहेका सिलवालले भने, ‘यसरी भौगोलिक रुपमा टाढा र नजिक भन्दै जाने हो भने यो समस्या समाधान नहुन सक्छ । दोषीले उन्मुक्ति पाउन सक्छन् ।’ पारिवारिक अवस्था कमजोर भएको र थप दबाब नआएकाले प्रहरीले घटनालाई सामान्य रुपमा लिएको हुन सक्ने उनले बताए । 

अस्पतालले समेत बालिकाले प्रतिकार गर्दा लागेको चोटको प्रकृति कस्तो थियो भन्नेमा आशंका गर्ने ठाउँ दिएको भन्दै पीडितको बयानविपरीत रिपोर्ट दिएको उनले बताए । त्यसैले प्रहरी र अस्पताल दुवै पक्ष घटनाको गहिराइमा नपुगेको उनको भनाइ छ । 

‘यदि दोषी उम्केकै हो भने प्रहरीले किन लापर्वाही गरेको भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै भइरहे आपराधिक घटना कम हुनुपर्नेमा बढ्न सक्ने सम्भावना देखिन्छ ।’ पीडित दुवै बालिका मितेरी फाउन्डेसनकै पहलमा काठमाडौंको एक विद्यालयमा अध्ययन गर्दै आइरहेका थिए । उपचारपछि दुवै जना विद्यालय गइरहेका सिलवालले बताए । 

प्रविधिसँग नजोडिँदा समस्या भयोः प्रहरी 

यता, चितवन प्रहरीले भने दोषीको पहिचान भइसकेपनि प्रविधिको प्रयोग नगर्ने भएकोले पक्राउ गर्न नसकेको जनाएको छ । चितवन र धादिङ गरी दुई जिल्लाका प्रहरी र स्थानीय मिलेर खोज्दामसेत फेला नपारेको चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । 

‘हामीलाई स्थानीयको समेत राम्रो साथ मिलेको छ,’ उनले भने, ‘तर, सधैँ जंगलमा बस्ने र कुनै पनि प्रविधिको प्रयोग नगर्ने व्यक्ति भएकोले पत्ता लगाउन सकेका छैनौँ ।’ एसपी राठौरका अनुसार उक्त व्यक्ति मानसिक सन्तुलन गुमेको र विगत ८÷९ महिनादेखि जंगलमै बस्दै आएको भन्ने बुझिएको छ । त्यसैले कान्दा आसपासका जंगलमा खोजतलास गर्दा तीनवटा ओढार भेटिएको र ती ओढारमा केही खानेकुरा र कपडासमेत भेटिएको उनले बताए । तर, जंगलमा ठूलाठूला भीर भएकोले पूरै जंगल चहार्न समेत कठिन भएको उनको भनाइ छ । 

चितवन र धादिङ दुवै जिल्लासँग जोडिएको घटना भएकोले दुवै जिल्लाका प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको उनले दाबी गरे । दोषीको परिवारलाई समेत भेटेर अनुसन्धान गर्दा ८/९ महिनादेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । मितेरी फाउन्डेसनको पहलमा काठमाडाै बसेर अध्ययन गर्दै आइरहेका कान्दाका दुई बालिका जाडो बिदामा घर आएका थिए । माघ ६ गते दिउँसो गोठेभञ्ज्याङबाट घर फर्किदै गर्दा गाउँनजिकैको जंगलमा एक अपरिचित युवाले उनीहरुमाथि आक्रमण गरेको थियो । दुई मध्ये एक बालिका बलात्कारको शिकार भएकी थिइन् । 

पीडितलाई ३० हजार रुपैयाँँ आर्थिक सहयोग 

उता, घटनापछि मितेरी फाउन्डेसनले पीडित बालिकाद्वयको परिवारलाई ३० हजार रूपैयाँ सहयोग गरेको छ । ‘हाम्रो समितिभित्र र बाहिरबाट संकलित ३० हजार रूपैयाँ पीडित परिवारलाई बुझाइसकिएको छ,’ फाउन्डेसनका अध्यक्ष सिलवालले भने, ‘घटना भएको थाहा पाएपछि काठमाडौँकै सानासाना विद्यार्थीले पनि पाँचपाँच रूपैयाँ संकलन गरेर उपलब्ध गराएका थिए ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *