‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित

 

फागुन ८, काठमाडौँ ।  राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। 

बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्ता ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 

null

बैठकमा ती दुवै प्रस्तावलाई कानूनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गरेका थिए । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएकाे थियो । बैठकको शुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गरेका थिए । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देश सहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २ः३० बजे बस्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *