बिराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव,६ राष्ट्रका १० नाटक मञ्चन हुने

फागुन ७, बिराटनगर ।   बिराटनगर–८ स्थित हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । 

 

वि.सं. २०३८ सालदेखि निरन्तर कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर शाखाले महोत्सव गर्न लागेको हो । यही फागुन १५ देखि २४ गतेसम्म महोत्सव हुन लागेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रले जानकारी दिए । 

null

महोत्सवमा भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, इटालीका १–१ र नेपालका ५ गरी १० वटा नाटक मञ्चन हुनेछ । हरेक दिन एउटा नाटक मञ्चन हुने क्षेत्रीले जनाए । महोत्सवमा नेपालमा काम गरिरहेका झण्डै १ सय र अन्य मुलुकका करिब १ सय जना कलाकार, निर्देशक, प्राविधिक, लेखक तथा पत्रकारको जमघट हुनेछ । महोत्सवमा सहभागी हुन इटालीबाट आएका रंगकर्मीले ३ दिनको नाट्य कार्यशालासमेत सञ्चालन गर्ने उनले बताए । 

१५ गते आरोहणको ‘विराट पर्व’, १६ गते बंगलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसापारायसिट ओएस ह्यास–४३’ र १८ गते भारतको ‘चम्पावती’ नाटक मञ्चन हुने तय भएको छ । त्यस्तै श्रीलंकाको ‘लभ एण्ड लाइफ’ १९ गते, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ २० गते, परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ गते, अफगानिस्तानको ‘ता राहाये’ २२ गते, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुने निश्चित भएको छ । 

महोत्सवको उद्घाटनका दिन सांस्कृतिक प्रदर्शनी, महोत्सव अवधिभर पुस्तक, चित्रकला प्रदर्शनीसमेत राखिनेछ । प्रत्येक नाटक मञ्चनपश्चात मञ्चन भएको नाटकका विषयमा कलाकारहरूका बीच अन्तरक्रियासमेत सञ्चालन गरिने महासचिव विवश पोखरेलले जानकारी गराए । महोत्सवमा आएका विदेशी कलाकारहरूलाई प्रदेश–१ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरूमा अवलोकन गराइने उनले बताए । यसअघि आरोहणले ३ पटक अन्तर्राष्ट्रिय र १० पटक राष्ट्रिय महोत्सव गरिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *