चार पूर्वप्रधानमन्त्रीसहित ४४ सांसदका पिएको तलब रोक्का

काठमाडौ। चार पूर्वप्रधानमन्त्रीसहित संघीय  सांसदका ४४ स्वकीय सचिव (पिए) को तलब दुई महिनादेखि रोकिएको छ । उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । 

३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ । २५ मन्त्री र फौजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक भने सचिवालयले उपलब्ध गराउनुपर्दैन। 

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीका पिएले आफ्नै खातामा पारिश्रमिक पाउने व्यवस्था छ । तर, हालसम्म पनि पूर्वप्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष,संसदीय समितिका सभापतिदेखि विभिन्न दलका सांसदले पिए र सचिवालयको पूर्ण विवरण उपलब्ध गराएका छैनन् । 

null

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा नेता माधवकुमार नेपाल तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पिएको पुस र माघको तलब रोकिएको छ । 

बैंक खाता नम्बर सचिवालयलाई उपलब्ध नभएकाले पारिश्रमिक रोकिएको संसद् सचिवालय स्रोतले बतायो । सचिवालयका एक कर्मचारी भन्छन्,‘बैंक खाता उपलब्ध हुनेहरूको पुसदेखि नै पारिश्रमिक स्वकीयहरूकै खातामा जम्मा गरिएको छ । खाता नबुझाउनेहरूको तलब भने रोकिएको छ ।’ 

शीर्ष नेताहरूको कार्यव्यस्ततासँगै स्वकीय सचिवालयका कर्मचारी पनि व्यस्त हुनुपरेकाले बैंक खाता नम्बर पु¥याउन नसकिएको पिएहरूले बताएका छन् । नेकपा अध्यक्ष प्रचण्डको स्वकीय निशा न्यौपाने भएको विवरण सचिवालयमा उपलब्ध छ । तर, उनको बैंक खाता नम्बर नभएकाले सचिवालयले तलब रोकेको छ । 

पूर्वप्रधानमन्त्री डा. भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले आफ्नो नागरिकता हराएकाले बैंक खाता खोल्न नसकेको र पार्टी कामको व्यस्तताले सचिवालयमा पुग्न नसकेको बताए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयका ६ मध्ये ४ जनाको बैंक खाता सचिवालयलाई उपलब्ध हुन बाँकी छ । सभामुख तथा अध्यक्षको सचिवालयमा ऐनअनुसार प्रमुख स्वकीय सचिव, दुईजना स्वकीय सचिव, दुईजना सवारीचालक र दुई कार्यालय सहयोगी रहन्छन् । तर, अध्यक्ष तिमल्सिनाको सचिवालयका ४ जना कर्मचारीको बैंक खाता सचिवालयमा पुगेको छैन । 

प्रमुख सत्तारुढ नेकपाका २१ जना सांसदका पिएले संसद् सचिवालयमा बैंक खाता बुझाएका छैनन् । जसकारण पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशिकला दाहालसहित अमृता थापा, जीवनराम श्रेष्ठ, टेकबहादुर बस्नेत, धर्मशिला चापागाईं, नवीना लामा, पूर्णाकुमारी सुवेदी, मैनाकुमारी भण्डारी, रामकुमारी झाँक्री, रेखा कुमारी, शिवकुमार मण्डलको पिएको तलब रोकिएको छ । 

नेकपाकै सत्या पहाडी, सुरेन्द्रप्रसाद पाण्डे, कोमल वली, परशुराम मेघी गुरुङ, राजकुमार कुँवर, शान्तिकुमारी अधिकारी र हरिचरण सिवाकोेटीका पिएको पनि तलब रोकिएको छ ।  बैंक खाता नम्बर सचिवालयमा नबुझाउँदा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित कांग्रेसका १५ सांसदको पिएको पनि तलब रोकिएको छ । 

देउवासहित उपनेता विजयकुमार गच्छदार, शशांक कोइराला, उमाकान्त चौधरी, कर्मा घले, जिपछिरिङ लामा, देवेन्द्रराज कँडेल, नागेन्द्र कुमार, डा.नारायण खड्का, पद्मनारायण चौधरी, प्रकाशमान सिंह, विमला नेपाली, मीना पाण्डे, देवी आले राना र दुर्गाप्रसाद उपाध्यायका पिएको पनि तलब रोकिएको छ । 

सत्तारुढ संघीय फोरमका पाँच सांसदका पिएको पनि तलब रोकिएको छ । फोरमका प्रदीप यादव, रेनुकुमारी यादव, डा. सूर्यनारायण यादव, हरिनारायणप्रसाद रौनियार र रामप्रीत पासवानका पिएको तलब रोकिएको हो । नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई, राप्रपाका राजेन्द्र लिङदेन र राजपाका महेन्द्र राय यादवका पिएको पनि तलब रोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =