जुम्लाको होटलमा आगलागीः एक जना गम्भीर घाइते
फागुन २, जुम्ला । सदरमुकाम खलंगामा रहेको ग्रिनल्याण्ड होटलमा गएराति आगलागी हुँदा लाखाैँको क्षति भएको छ भने एकजना गम्भिर घाईते भएका छन ।
जुगाडखोला स्थित चन्दननाथ नगरपालिका–१ बस्ने रामेश्वर आचार्यको दुई तले घरमा चेतन रावलले ग्रिनल्याड होटल सञ्चालन गरिरहेका थिए । होटलको भान्छा कोठाबाट आगो सल्की आगालागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
गएराति करिब १२ बजेदेखि लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र स्थानीय बासिन्दाले एक घण्टाभित्रै आगो नियन्त्रणमा लिएका थिए ।
null
होटलमा आगलागी हुँदा कुकको रुपमा काम गर्दै आएका ४० वर्षीय मानबहादुर दलामी मगर घाइते भएका छन् । घाइतेको बाहिरी शरिर पुरै जलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ घाइतेको अवस्था गम्भिर भएपछि थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ ।
आगलागीबाट झण्डैँ २२ लाख बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । जोडिएका घरहरु भएकाले होटलमा मात्रै नभइ आसपासका घरहरुमा समेत क्षति पुगेको छ । समयमै आगो नियन्त्रण नभए खलंगा बजारका धेरै घरहरु जल्नसक्ने अवस्था रहेको स्थानीय लक्ष्मी न्यौपानेले बताइन् ।
जुगाडखोला नजिकै भएको कारण र छिटै स्थानीय लगायत प्रहरी, सेना र सशस्त्र प्रहरीको जनशक्तिले आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति भएन ।
आगलागीबाट होटलसंगै जोडिएको अर्जुन सिंह कठायतको ६ लाख रुपैयाँ बराबरको मेसिनरी सामान जलेर नष्ट भएको छ भने अर्को संगै जोडिएको पार्वती खत्रीको घरको सामान समेत जलेको जिल्ला प्रहरी कार्यालयले जुम्लाले जनाएको छ ।