कलेज सिध्याउन लम्बोदर न्यौपानेको पैसा खानेहरूलाई जेल हाल्नुपर्छ

 

फागुन २, काठमाडौं । सामाजिक संस्थालाई निजी बनाउन सक्रिय नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकले फायल तामेलीमा राख्न ७८ लाख घुस दिएको अडियो र भिडियो नै सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको पद धरापमा परेको छ । सरकारले आयुक्त पाठकलाई महाभियोग लगाएरै निस्कासन गर्ने तयारी थालेको छ । यसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाभियोगको छलफल अगाडि बढाएको छ । मकालु खबर, नेपाल खबर, कान्तिपुर अनलाईन लगायतले नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग पाठकले घूस लिएको भिडियो सम्बन्धि समाचार प्रकाशित गरेपछि त्यसले राष्ट्रिय विषय बनेको थियो । 

सामाजिक संस्थालाई निजीकरण गरी करोडौं कमाउने पक्षले अख्तियारमा परेको उजुरी मिलाउन र तामेलीमा राखिदिन भन्दै आयुक्त पाठकलाई किस्ताबन्दीमा ७८ लाख घुस दिएको देखिएको छ । पाठकले ती ब्यक्तिबाट घूस लिएपनि काम नगरिदिएपछि उनले पाठकलाई पटकपटक पैसा फिर्ता माग गरेको अडियो/भिडियोमा बुझन सकिन्छ । नेकपाका एक केन्द्रिय सदस्यले पाठकले भोली शुक्रबार नैतिकताको आधारमा राजिनामा नदिए महाभियोग लगाएर कारवाही गर्ने छलफल भएको बताए । ‘मुहान शुद्ध बनाउन राखेकाको हात नै फोहर रहेछ, यस्तालाई जोगाए सरकार नै फोहर हुन्छ ।’ ती नेताले मकालु खबरसँग भने । 

null

उनले पार्टीका माथिल्ला नेता र सरकारका मन्त्रीहरुले समेत यो विषयलाई गम्भिररुपमा लिएकोले भोली ठोस कदम चाल्ने बताए । उनले मुलुकबाट भ्रष्टाचार निर्मूल पार्ने अभियान बोकेको संस्थाले नै भ्रष्टाचारको संरक्षण गरेको प्रति आक्रोस ब्यक्त गर्दै देश खोक्रो पार्ने धमिरालाई नष्ट गर्नुपर्ने बताए । ‘मुलुक संबृद्धि र शुशासन तर्फ अग्रसर भएको बेला यस्तो हर्कत क्षम्य हुँदैन । महाभियोग लगाएर कारवाही गरिन्छ ।’ उनले भने । स्रोतका अनुसार भोली संसद बैठक सुरु हुनु अघि नै पाठकलाई महाभियोग लगाउन हस्ताक्षर संकलन हुनेछ । नेकपाका केहि नेताले त्यस अघि नै पाठकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । 

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले संसदले पाठकलाई महाभियोग लगाएपनि इन्जिनियरिङ कलेज मास्न खोज्नेहरु शिक्षा मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालय र न्यायालयमा समेत रहेकोले तिनीहरुलाई समेत कारवाही हुनुपर्ने बताए । उनले पाठकले नैतिकताको आधारमा राजिनामा दिएर मात्रै धर नपाउने बताए । 

‘राजिनामा दिएर पछि सबै सुद्ध हुने भयो भने के अर्थ भयो र ? राज्य कहाँ गयो ? कानुनी शासन कहाँ गयो ?’ उनले भने । मेयर मिश्रले देशमा एकथरी मान्छे कसरी आफु मात्र कमाउने, कसरी राज्यको दोहन गर्ने भन्ने प्रवृत्तिका भएकाले त्यस्ताबाट देशलाई बचाउन पनि यस्ता ब्यक्तिहरुलाई राज्यले संरक्षण गर्न नहुने बताए । 

उनले आफुहरुले १९ महिना देखि सार्वजनिक सम्पत्ति जोगाउन लड्दै आएको बताउँदै कलेज निजीकरण गर्न धेरै ठूलो गिरोह सक्रिय रहेकोले त्यस्ता गिरोहलाई पनि कारवाही हुनुपर्ने बताए । ‘लम्बोदर न्यौपानेको पैसा खाने मान्छेहरु अरुपनि छन्, तिनीहरुको नाम सार्वजनिक हुनुपर्छ । तिनीहरुलाई जेलमा कोच्नुपर्छ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *