प्रदेश १ राजधानीको नाम र राजधानीका विषयमा आ–आफ्नै दावी

 

विराटनगर, माघ २० । १ नं. प्रदेशसभाको हिउँदे अधिवेशन आईतबारदेखी सुरु भएपछी प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय तातेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण बर्खे अधिवेशनबाट टुंगो नलागि अन्त्य भएपछी केही समय सेलाएको यो विषय अब पेचिलो बनेको छ । हिउँदे अधिवेशन सुरु भएसँगै प्रदेशको स्थायी राजधानी आफ्नो शहरमा हुनुपर्ने प्रदेश १ का विभिन्न शहरका जनताले माग र दावी गर्दै आएका छन् । 

प्रदेश नं. १ को स्थायी राजधानीका लागि विराटनगर, इटहरी, धरान र धनकुटाले दावी गर्दै आएका छन् । ति शहरका जनताले भौगोलिक बनावट, विकासका पूर्वाधार, प्रयाप्त संरचना लगायतका कारण आ–आफ्नै शहरमा राजधानी हुनुपर्ने माग गर्दै आएका छन् । यी शहरका जनता नामाकरणको विषयमा मौन भएपनी स्थायी राजधानीको विषयमा भने फरक फरक मत राखेका छन् । 

null

धनकुटाका नागरिक अगुवाहरुले सामरिक मत्वत्वको दृष्टिकोणले धनकुटानै स्थायी राजधानीका लागि उपयुक्त भएको बताएका छन् । उनीहरुले धनकुटा प्रशासनिक केन्द्रको मुल थलो विक्रम सम्वत १८४० देखी राज्यले लगानी गरेको ठाउँ बाहेक अन्यत्र राजधानी राखिनु न्यायोति नहुने बताएका छन् । धनकुटा ७ का जनार्दन घिमिरेले सवै ठाउँलाई समानरुपमा विकास गर्ने हो भने स्थायी राजधानी धनकुटाको विकल्प अरु हुनै नसक्ने बताए । 

उनले भने ‘राजधानीको अन्त विकल्प खोज्नुपर्छ जस्तो मलाई लाग्दैन । म धनकुटावासी भएर मात्र भनेको पनि हैन । खासगरि सामरिक महत्वको दृष्टिकोण बाट प्राकृतिक न्यायका हिसावमा अथवा भनौ खास कुरा खास ठाउँ स्वत तोकिएर आएको हुन्छ । हुन सक्छ कुनै ठाउँ फलफुलका लागि होला, कुनै ठाउँ व्यापारिक केन्द्रका लागि होला कुनै ठाउँ कृषिका निम्ती होला, कुनै ठाउँ स्वास्थ्यको हब हुन सक्ला, कुनैठाउँ प्रशासनिक हब हुन सक्ला, कुनै ठाउँ पर्यटकीय दृष्टिकोणले हुन सक्ला यो हिसाबले धनकुटामा राजधानी हुनुपर्छ भन्ने हाम्रो माग हैन । प्रशासनीक केन्द्रको मुल थलो ऐतिहाँसिक दृष्टिकोणबाट पनि स्थायी राजधानी धनकुटा हुनुपर्छ भन्ने हाम्रो माग हो । 

त्यस्तै धनकुटा ६ का राजेश्वरबहादुर श्रेष्ठले संघियताको मर्म अनुसार समानुपातिक विकासका लागि पहाडी जिल्ला नै उपयुक्त हुने र त्यसका लागि धनकुटा निर्विकल्प रहेको बताए । उनले सामरिक, पूर्वाधार, पहुँच हावापानीका हिसाबले धनकुटा उपयुक्त रहेको भन्दै स्थायी राजधानी धनकुटा बनाउन माग गरे । 

त्यस्तै धनकुटाका पूर्व माओवादी केन्द्रका सहईन्चार्ज तथा नेकपाका जिल्ला सदस्य ऋषिराम ढुंगानाले समानुपातिक ढंगले विकासको पहुँच पुर्याउने हो भने तथा साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेकाले अन्यत्र राजधानी राखिए पछाडी पर्दै आएका पहाडी जिल्ला फेरी पनि पछि परिरहने दावी गरे । उनले भने ‘हामीले धनकुटालाई राजधानी भनेर त्यतिकै मागेका छैनौँ । पूर्वाधारका हिसाबले, सामरिक महत्वका हिसावले र सुरक्षाका हिसाबले पनि धनकुटा जिल्लामा पहिल्यै देखी विकास क्षेत्रको सदरमुकाम रहँदै आएकाले स्थायी राजधानी धनकुटानै हुनुपर्छ । नामको हिसाबमा पहिचान र भुगोल सवैले मान्ने जे उपयुक्त हुन्छ त्यहि राख्दा हामीलाई आपत्ति हुँनेछैन ।’ 

 

त्यस्तै धराने जनताहरुले पनि सवै हिसाबले धराननै प्रदेशको स्थायी राजधानी हुन उपयुक्त भन्दै धरानलाई स्थायी राजधानी बनाउन माग गरेका छन् । उनीहरुले धरान भौगोलिक र सवैलाई पायक पर्ने हिसाबले राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानी धरान बनाउन प्रदेस सरकार सँग माग गरेका छन् । 

धरान–१६ का कृष्णप्रसाद धितालले भने ‘सवै कुराले धरान नै उपयुक्त छ । यहाँको भौगोलिक कारणले पनि गर्दा अब यहाँ स्वच्छ वातावरण पनि छ । राजधानीका लागि वातावरण पनि स्वच्छ हुनुपर्यो । वरिपरि डाँडाकाँडा र समणीय स्थल रहेकाले पनि धरान राजधानीका लागि निर्बिकल्प छ ।’ 

त्यस्तै धरानकै अमर लकान्द्रिले धरानमा प्रदेशको स्यायी राजधानीका लागि प्रयाप्त संरचनाहरु रहेकाले धरानलाई नै स्थायी राजधानी बनाउन माग गरे । उनले भने ‘विराटनगरले विभिन्न संरचनाहरु रहेको दावी गरेर राजधानी उतै राख्न सरकारलाई दवाव दिँदै आएको छ । संरचनाका हिसाबले धरान पनि विराटनगर भन्दा कम छैन । त्यसमा पनि धरानको हावा पानी राम्रो छ । अझ धरान धार्मिक पर्यटकिय दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेकाले धरान नै स्थायी राजधानी हुनुपर्छ ।’ 

 

इटहरीवासीले वस्तुगत स्थिती सडक र भुगोलका आधारमा राजधानीका लागि इटहरी उपयुक्त रहेको बताएका छन् । विराटनगर भारतको सिमा नजिक रहेकाले सुरक्षाका दृष्टिकोणले विराटनगर उपयुक्त नरहेको भन्दै इटहरी चारैतिरबाट स्थायी राजधानी बन्न उपयुक्त रहेको दावी गरेका छन् । इटहरीका प्रकाशबाबु दियालीले भने ‘ताप्लेजुङ, इलमा, पाँचथर लगायतका जिल्लाका जनतालाई इटहरी नजिक हुन्छ, विराटनगर पनि यहिबाट जानुपर्छ । धनकुटा, संखुवासभा, तेह्रथुम, उदयपुर, भोजपुर, खोटाङ तथा सोलुका जनतालाई पनि यहिँ पायक पर्ने भएकाले पनि इटहरी नै राजधानीका लागि उपयुक्त हो । 

त्यस्तै इटहरीकै लक्ष्मण ढकालले चारैतिरको केन्द्र इटहरी रहेकाले स्थायी राजधानी इटहरी नै हुनुपर्ने माग गरे । उनले भने ‘हाम्रो पूर्वाञ्चलमा सवैभन्दा पहिला विकास भएको विराटनगर हो । धनकुटालाई लिने हो भने दरवारहरु भईसकेको, पूर्वाञ्चलको सदरमुकाम भईसकेर विकास भईसकेको हो । सुनसरीमा केहिपनि नभएको हुँदा राजधानी भईदिए यो पनि विकास हुन्थ्यो भन्ने हाम्रो माग हो । नामाकरणका विषयमा विरालो कालो सेतो रातो भएपनि मुसा मार्ने काम हो त्यसैले नाम जे राखेनी हुन्छ ।’ 

 

विराटनगरवासीले पनि प्रदेशको राजधानीका लागि विराटनगर सवै हिसाबले उपयुक्त रहेको भन्दै विराटनगर नै स्थायी राजधानी हुनुपर्ने बताएका छन् । विराटनगरका चेतन निरौलाले भने ‘विराटनगर प्रदेश नं. १ को सवै भन्दा ठुलो शहर पनि हो । यो औद्योगीक क्षेत्र मात्र नभएर यहाँ प्रयाप्त संरचनाहरु समेत छन् । यहाँ एयरपोर्ट छ । यो ऐतिहाँसिक ठाउँपनि हो । त्यसैले विराटनगरनै हुनुपर्छ ।’ त्यस्तै विराटनगरका गोपाल काफ्लेले पनि विराटनगरमा प्रयाप्त संरचना भएको बताउँदै देशकै आर्थिक मेरुदण्डका हिसाबले पनि राजधानी विराटनगरनै हुन उपयुक्त रहेको बताए । 

त्यस्तै धरान बजारमा भेटिएका संखुवासभा खाँदबारीका राजेश थापाले भने ‘राजधानी भनेको सेन्टरमा हुनुपर्छ, हाम्रो सेन्टर भनेको धनकुटातिर पर्छ तर, धनकुटा भनेको अलिकति पहाड प¥यो सवैको पहुँच नपुग्न सक्छ । सवैतिर बाटो जोडिएको छैन । झापा कुना तिर पर्यो । विराटनगर पनि सिमा नजिक पर्यो त्यसैले इटहरी कि धरान राजधानी उपयुक्त हुनुपर्छ ।’ त्यस्तै तेह्रथुमका हस्तराज सुब्बाले भने ‘म चाहीँ तेह्रथुमको मान्छे त्यसैले धनकुटा नै हुनुपर्छ ।’ 

प्रदेश सरकारले विराटनगरलाई नै स्थायी राजधानी बनाउन तयारी गरेको श्रोतले जनाएको छ । वर्खे अधिवेशन अन्त्यका वेला सत्ता पक्षिय दल नेकपा संसदीय दलको विराटनगरमा सम्पन्न बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाई सकेको श्रोतको दावी छ । यद्यपी प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले यो विषय सहमतिमै टुंगो लगाईने बताउँदै आएका छन् । उनले सवैको भावना समेटने गरि नाम र राजधानीको विषय टुंग्याइने बताउदै आएका छन् । 

यसैबिच १ नं. प्रदेशसभाको हिउँदे अधिवेशन आईतबारदेखी सुरु भएको छ । यहि अधिबेशनबाट प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याउने प्रदेश सरकारको तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =