चितवनको सिराइचुली पहाडमा भ्यु टावर बन्दै

फागुन १४, चितवन । चितवनको सिराइचुली पहाडमा भ्यु टावर निर्माण गरिने भएको छ ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा रहेको सिराइचुली डाँडामा पर्यटकहरुलाई थप आकर्षित गर्न भ्यु टावर निर्माण गर्न लागिएको हो ।
null
टावर निर्माणको लागी प्राविधिक टोलीले डीपीआर तयार अन्तिम चरणमा पुर्याएको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले बताइन् । गाउँपालिकाले ८ लाख रुपैयाँको लागतमा भ्यु टावर र त्यहाँ पुग्न १२ लाखको लागतमा सिंढी निर्माण गर्ने तयारी गरेको छ ।
इच्छाकामना वडा नम्बर २ को तोवाङबाट सिराइचुलीसम्म पुग्ने सिंढी चार लाख रुपैयाँको लागतमा तयार भइसकेको अध्यक्ष गुरुङले बताइन् । त्यसैगरी हात्तीवाङबाट सिराइचुली पुग्न ८ लाख रुपैयाँको लागतमा सिंढी बनाउने काम शुरु हुँदैछ ।
पृथ्वी राजमार्गको धादिङ जिल्ला रोराङ गाउपालिकास्थित हुग्दी खोलाबाट तावाङ र हात्तीवाङ मोटरमा जान सकिन्छ । पहाडी बाटो भएकाले हात्तीवाङसम्म पुग्न गाडीले करिब दुई घण्टा लाग्दछ ।
त्यहाँबाट आधा घण्टा सिंढी चडेपछि सिराइचुली पुग्ने काम भइराखेको गाउँपालिकाले जनाएको छ । भ्यु टावर निर्माण स्थल सिराइचुली डाँडाँमा आकाशे पानीको ट्याङकी राख्ने काम सम्पन्न भइसकेको छ ।
समुन्द्री सतहबाट एक हजार नौ सय ४५ मिटरको उचाइमा रहेको सिराइचुलीबाट मनमोहक सुर्योदय देख्न सकिन्छ ।








