राजधानीबासिलाई पानीको चिन्ता, मन्त्रीलाई प्रतिष्ठाको !

फागुन ११, काठमाडौं । मेलम्ची खानेपानी आयोजना लामो समयसम्म ठेकेदार कम्पनीसँगको लफडामा अल्झिदा राजधानीबासि फेरि ढाँटिएका छन् । खानेपानी मन्त्री बिना मगरले दुई महिनाभित्रमा राजधानी पानी आउने घोषणा गरेपनि आयोजना भने थप अन्योलमा परेको छ। ठेकेदारसँगको लफडा नसकिँदै आन्तरिक विवादमा बढ्न थालेको छ। 

आन्तरिक विवादकै कारण खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भयो भने मन्त्री विना मगर थप बिवादमा तानिएकी छन्। 

मन्त्री कमिशनको चक्करमा लागेको हो कि भन्दै शुक्रबार संसदले नै प्रस्न गरे । मन्त्री मगरसँग भएको प्रस्नोत्तरमा सांसदहरुले खानेपानी सचिव ठाकुरको सरुवा र इटालियन ठेकेदार कम्पनीले छाडेर जानु जस्ता कारणले मेलम्ची थप अन्योलमा परेको भन्दै चिन्ता जनाएका छन्। 

null

 

सुरुदेखिनै यो या त्यो बहानामा गति लिन नसकेको मेलम्चीमा पछिल्लो पटक इटालियन ठेकेदार कम्पनी सिएमसीले पनि विभिन्न बहाना निकाल्यो । केन्द्रीय कार्यालयमा नै संकट आएपछि मेलम्ची पछिल्लो समय नेपालमा काम गर्न इच्छुक थिएन । 

त्यही भएर उसले एकपछि अर्को बहाना निकाल्न थाल्यो । सरकार फेरिए नै पटक मेलम्चीको पानी ल्याउने र राजधानीबासिलाई पानीको समस्याबाट मुक्त गराउने भाषण नियमित नै बने । हरेक जसो सरकारले आउँदो दशैँभित्रमा पानी ल्याई छाड्ने प्रतिवद्धता जनाउँथे । तर पटक पटक गरिएका बाचा पुरा नगर्दा मेलम्ची भने झण्डै तीन दशक बित्न लाग्दा समेत अन्यौलमै छ। 

पछिल्ला केही घटनाले मेलम्ची थप अन्योलमा पर्ने देखिएको छ। सचिव ठाकुरले आफ्नो सरुवासँगै मन्त्रालयमा आर्थिक चलखेल भइरहेको बताएका छन्। आफ्नो सरुवा पनि त्यही गैर कानूनी काम नगरेका कारण भएको उनको आरोप छ । शुक्रबार मन्त्री मगरले यसको खण्डन गर्न त चाहिनन् तर मेलम्ची आफ्नो प्रतिष्ठासँग जोडिएको भने बताइन् । तर अब मन्त्री र नेताको प्रतिष्ठाको विषय बन्दैमा राजधानीबासिको तिर्खा भने मेटिने देखिँदैन। 

संसद गगन थापाले मन्त्री मगरलाई सोधे तपाई गलत कि सचिव गलत? हामीलाई जानकारी चाहियो । मन्त्रीले आर्थिक चलखेलमा नलागेको र जसरी पनि मेलम्ची सम्पन्न गर्नुपर्छ भन्नेमा लागेको बताइन्। कुन विकल्पबाट मेलम्ची बनाउने भन्नेमा भने मन्त्री मगर पनि अलमलमै देखिइन्। 

यसअघि आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दवाव दिएको तर, निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दाबी गरेका थिए। 

उनले आफूले नेपालीले नै बाँकी काम साढे २ अर्बमा गर्न सक्ने र समयमा पानी पनि आउने बताएको उल्लेख गर्दै फेरि सीएमसी आए मुलुकलाई ७ अर्ब घाटा लाग्ने बताए । 

सचिव ठाकुरले सीएमसी आएर फेरि काम गर्ने ग्यारेन्टी नभएको बताउँदै उसको धरौटी रकम र साढे दुई अर्ब क्षतिपूर्ति दिनु राज्यलाई हानी पुर्याउनु बाहेक केही नभएको उल्लेख गरे । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो । 

मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए । गत माघ २४ गते सरकारले सीएमसीसँग ठेक्का तोडेको थियो । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ । 

मेलम्ची खानेपानी आयोजनको काम अघि बढाउने सम्बन्धमा मन्त्री मगर र ठाकुरबीच पहिलेदेखि नै मत बाझिएको थियाे । ठेक्का तोडिएपनि मन्त्री मगरले फेरि सीएमसीलाई ल्याउन पहल थालेकी हुन् । 

मेलम्ची खानेपानी आयोजनाको काम बीचमै छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएमसी ठेक्का प्रक्रियाभित्र रहेर आएमा उसलाई नै पहिलो प्राथमिकता दिने खानेपानी मन्त्री मगरले बताइन्। 

काम अन्तिम चरणमा पुगेका बेला ठेकेदार कम्पनी सिएमसी जाँदा अप्ठ्यारो भएको उनको भनाई छ। मन्त्री मगरले गेट निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै सिएमसी आयो फेरि टेण्डर गर्नु पर्ने प्रक्रियाबाट छुटकारा मिल्ने तर आएन भने रि–टेण्डर गर्ने बताइन्। 

कांग्रेसका सांसद थापाले सचिवले मन्त्रीलाई देश डुबाउन थालेको आरोप र मन्त्रीले सचिवले कमिसन मागेकाले सरुवा गरेको भन्ने विषय प्रस्ट पार्न माग गरेका थिए। यी विषयको मन्त्रीले प्रश्ट जवाफ समेत दिइनन्। 

मन्त्रीको आनाकानी र सचिवको आरोपले मेलम्ची पर धकेलिने त प्रस्ट संकेत गरेको छनै राजधानीमा कहिलेसम्ममा पानी आउने भन्ने थप अन्यौल बढेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *