युवा साहित्यकार योगलाल गौतम सम्मानित

 

माघ १७, काठमाडौँ । युवा साहित्यकार योगलाल गौतमको साहित्यिक योगदानको कदर गर्दै साहित्य सम्मान प्रदान गरिएको छ । काठमाडौँको कालिमाटीस्थित क्यामेलिया उच्च माध्यामिक विद्यालयले आयोजना गरेको सिर्जनात्मक संवाद नामक कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माको प्रमुख उपस्थितिमा गौतमलाई उक्त सम्मान प्रदान गरिएको हो । श्रष्टा गौतमका बहुविधामा पाँच वटा साहित्यिक कृतिहरु प्रकाशित छन् । 

कार्यक्रममा योगलालका पाँचवटा कृतिमाथि सिलसिलेवार समिक्षा गरिएको थियो । गौतमका कर्णालिको चिहान नामक निबन्ध संग्रहमाथि बोल्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक, कवि एवम् समालोचक महेश पौड्यालले गौतमका कृतिले समाजका विभिन्न पक्षलाई समेटेको बताए । लेखकले आफ्नोपनलाई बचाएर मानवताकै लागि स्वतन्त्र सिर्जनामा लाग्न पौडेलको विशेष सुझाव थियो । 

null

यसैगरी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक, साहित्यकार एवम् समालोचक ज्ञाननिष्ठ ज्ञवालीले श्रष्टा गौतकको प्रेमको मलामी नामक उपन्यासमाथि बोलेका थिए । यस कृतिको शिर्षक हेरेर गरिएको आंकलन अध्ययनका क्रममा भिन्न महसुस भएको बताउँदै ज्ञवालीले कृतिभित्रको उज्यालो पक्षको चर्चा गरेका थिए । लेखकले समाजको सकारात्मक पक्षलाई जोड दिन खोजेको बताउँदै लेखकलाई अझ वस्तुनिष्ठ लेखन र विश्लेषणका लागि सुझाव दिएका थिए । 

कार्यक्रममा त्रि.वि.का प्राध्यापक तथा साहित्यकार एवम् संचारकर्मी नरनाथ लुइँटेलले श्रष्टा गौतकको ह्वाइट हाउसको टाइ नामक निबन्ध संग्रहका बारेमा समिक्षा गरेका थिए । लुइँटेलका अनुसार योगलालको निबन्धकारिता उज्यालो बाटोमा अघि बढेको बताउँदै सकारात्मक सन्देश दिन सफल भाषा शिल्प कृतिको आकर्षक पक्ष भएको बताए । 

समिक्षाका क्रममा बोल्दै साहित्यकार एवम् समिक्षक, पुन्य गौतमले योगलालको रणभेरी नामक उपन्यासको चर्चा गरेका थिए । समिक्षकका अनुसार रणभेरी उपन्यासले सामाजिक समस्याको जरो पहिल्याउन आख्यानको उपयोग गरेको छ । यसले मामाजिक बेथितिका विरुद्ध आवाज उठाउन खोजेको छ । समिक्षा कार्यक्रममा बोर्ण बहादुर कार्की, स्वागत नेपाल, युवा गायक उमेश वि।क। लगायतको उपस्थिति रहेको थियो । गायक उमेश वि।क।ले देशभक्तिको गीत प्रस्तुत गरेका थिए भने क्यामेलिया स्कुलका विद्यार्थीहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा क्यामेलिया विद्यालयका विद्यार्थी एवम् अन्तराष्ट्रिय स्वर्णपदक विजेता आयुशा तामाङ र आर्यन रन्जितलाई विद्यालयको तर्फबाट जनही रु दश हजार नगद सहित सम्मान गरिएको थियो । 

उक्त सिर्जनात्मक कार्यक्रम आगामी दिनमा पनि नियमित रुपमा आयोजना गरिने र अर्को शृङ्खलामा गोगलालको मान्छे बनाउने कारखाना नामक कविता सङ्ग्रहमाथि समिक्षा गरिने आयोजकले जानकारी दिएका छन् । विद्यालयका विद्यार्थी, अभिभावक लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम क्यामेलिया विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो । श्रष्टा योगलाल गौतमका अनुसार उक्त कार्यक्रम सिर्जनात्मक लेखनका लागि अत्यन्तै उपयोगी भएको र यसले आगामी सिर्जनामा समेत सबैलाई तात्विक प्रेरणा दिइरहने छ । 

क्यामेलिया विद्यालयका प्रिन्सिपल रुद्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम साहित्यकार तथा पत्रकार, सगोत्री आचार्य र क्यामेलिया विद्यालयका कोअर्डिनेटर द्रोणराज कोइरालाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *