भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै

चितवन, १० फागुन । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले उग्ररूप लिदै गएको छ । उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो । 

धेरै विवाद हुन थालेपछि प्रमुख र उपप्रमुख दुवै महिला भएको महानगरलाई नजिकबाट नियाल्नेहरू झगडालु सासू–बुहारी बस्ने घरसँग दाँज्न थालेका छन् । यदि साँच्चैको सासू र बुहारी हुँदा हुन् त समाधानका अनेकन उपायहरू हुन्थे । जस्तैः अंशबण्डा गर्ने, छुट्टिएर बस्ने, टाढा नदेखिने ठाउँँमा बस्ने । तर, महानगरका प्रमुख रेणु दाहाल र उपप्रमुख ठकुरीलाई त्यो विकल्प छैन । उनीहरुबीच मिलेर बस्नुको बिकल्प छैन । जनप्रतिनिधिलाई नागरिकले विवाद गर्न, छुट्टिएर बस्न भनेर निर्वाचित गरेर पदमा पठाएका पनि होइनन् । 

 

null

प्रमुख र उपप्रमुखबीच विवाद झन् झन् चुलिँदै गएको छ । महानगरको संमृद्धिका लागि भने प्रमुख र उपप्रमुखमात्रै होइनन् सबै राजनीतिक दल, महानगरवासी, निजी क्षेत्रलगायत सबै जना एकजुट भएकै छन् । विकासले गति लिएकै छ । सिटीहल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत ठूला र निक्कै महत्त्वाकांक्षी आयोजनाहरू अघि बढेकै छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक पूर्वाधारलगायत क्षेत्रको काम पनि भइरहेकै देखिन्छ । 

महानगरमा विकासका गति जुन गतिमा अघि बढेको छ, त्योभन्दा कम छैन आन्तरिक विवाद । महानगरमा भित्रभित्रै सल्किएको आगो ‘परालको कि भुस’को ? भन्ने धेरैले अड्कल काट्नसमेत सकेका छैनन् । 

चाँडै निभाउनेतर्फ नलाग्ने हो भने यसले महानगरको संमृद्धि यात्रालाई नै अवरोध सिर्जना गर्न सक्ने भन्दै सरोकारवाला चिन्तित बनेका छन् । खासगरी महानगरका जनप्रतिनिधिबीच पहिलैदेखि नै आरोप प्रत्यारोप हुने गरेको थियो । 

तर, गत मंगलबार उपप्रमुखसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २५औं कार्यपालिका बैठक बहिष्कार गरेर मिडियामार्फत असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो । उपप्रमुखको असन्तुष्टि कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको, प्रमुखले पेलेर जाने गरेको र आफूलाई म्यासेन्जरमा आएको धम्की बारे चासो नदिएकोमा आदि छन् । 

यता, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूलाई नटेर्ने गरेको उपप्रमुख ठकुरीको अरोप छ । आफूलाई प्रमुखकै अगाडि झर्केर बोल्दा पनि प्रमुख दाहालले समस्या समाधानका लागि कुनै पहल नगरेको उनको आरोप छ । तर, उपप्रमुख ठकुरीको आरोपलाई प्रशासकीय अधिकृत सुवेदी ठाडै अस्वीकार गर्छन् । उनले सुरुवात उपप्रमुखबाटै भएको जिकिर गरेका छन् । 

आफ्नै घर हुदाँहुँदै पनि घरभाडा पाउन गरेको आग्रह आफूले इन्कार गरेपछि उपप्रमुख रुष्ट बनेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको दाबी छ । उनले भने, ‘समन्वय गर्ने ठाउँमा गरेकै छु, उहाँले मिडियामा ममाथि विभिन्न किसिमका आरोप लगाउनु भएछ, तर त्यस्तो केही भएको छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *