भेनेजुएला प्रकरणमा नेकपाको उही अडान, उस्तै विराेध

माघ २१, काठमाडौँ । भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पूर्व अडान कायमै रहेको बताएको छ । 

सोमबार बसेको नेकपा सचिवालय बैठकले भेनेजुएलामा जारी संकटप्रति पार्टीको धारणा तथा दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेको छ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माघ १३ गते एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका थिए । 

null

अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको आरोपसहितको कडा विज्ञप्ति निकालेपछि यसले नेपालमा समेत राजनीतिक विवाद र तरंग उत्पन्न गराएको छ । यो विषयमा सत्तारुढ दलका नेताहरुले नै असन्तुष्टि जनाएका थिए । 

तर नेकपाको सचिवालय बैठकले भने विदेशनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पार्टीको नीति र दृष्टिकोण स्पष्ट र स्थिर रहेको जनाएको छ । बैठकले अन्य मुलुकमा कुनै मुलुकले बाह्य हस्तक्षेप गर्न नहुने र आन्तरिक समस्याको समाधान आन्तरिक रुपमा नै समाधान गर्नुपर्ने धारणा राखेको छ । 

‘हालैका दिनहरुमा भेनेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ भेनेजुयला प्रकरणबारे स्पष्ट पार्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै अन्योल छैन। यस सम्बन्धमा पार्टीको नीति र दृष्टिकोण स्पस्ट र स्थिर छन्।’ 

भेनेजुयलामा मे २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ खाएका हुन् । तर, उनलाई मानवअधिकार विरोधी भएको र अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् । 

यहीबीचमा विपक्षी नेता जुआन गुआइडोले आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको हो । 

त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो। अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि क्षुब्द भएका मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् । 

यो मामलामा भेनेजुयलाका जनता विभाजित छन् भने अन्तर्राष्ट्रिय समुदाय पनि विभाजित छ । 

चुनावमा भारी मत ल्याएर जितेका राष्ट्रपति निकोलस मडुरोलाई अपदस्त गर्ने विपक्षीको प्रदर्शनलाई बैधानिकता दिने अमेरिकी नीति त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप भएकोे भन्दै प्रचण्डले अमेरिकाप्रति लक्षित कडा विज्ञप्ति निकालेका थिए। 

बैठकले संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तहरुप्रति पार्टी प्रतिबद्ध रहेको भन्दै हरेक देशको सर्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताएको छ। 

‘हामी कुनै देशका आन्तरिक मामिलामा बाह्य हस्तेक्षप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछौं,’ बैठकपछि नेता श्रेष्ठले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *