निकुञ्ज ऐन खारेज गर्नुपर्ने माग राख्दै मौन प्रदर्शन 

फागुन ६, चितवन। चितवन माडीका युवाहरुले निकुञ्ज ऐन खारेज गर्नुपर्ने माग राख्दै मौन प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले बिहीबार निकुञ्ज क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि उनीहरु रिसाएका हुन् । 

 

यो आदेशले माडीमा विकासमा अवरोध ल्याएको भन्दै निर्णय फिर्ता गनुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गरेका हुन् । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा माडी नगर क्षेत्र पर्छ । ‘हामी माडीका बासिन्दा हौँ, तस्कर होइनौँ’, ‘माडी नगरपालिका काञ्जिहाउस नसम्झ’, ‘माडी उपत्यका मा मानिस बस्छन्, पशु नसम्झ’, ‘हामी संरक्षक हौँ, तस्कार होइनौँ’, ‘निकुञ्ज वरदान होस्, अभिषाप होइन’, ‘निकुञ्ज ऐन २०२९ खारेज गर’ लगायतका प्लेकार्डसहित चौबिसकोठीमा रहेको चौतारीमा उनीहरु भेला भएका थिए । 

null

कोणसभामा प्रदर्शन संयोजक माडीका युवा मिलनदीप पौडेलले निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए । “आदेशले विकासमा निर्माणमा तत्कालै अवरोध हुनसक्छ”, उनले भने, “पुरानो ऐन खारेज गरी माडीमैत्री नयाँ ऐन बनाइयोस् ।” उनले निकुञ्जलाई माडीको वरदान बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । कोणसभामा बोल्दै युवा नेता सन्तोष पनेरुले योजना तथा बजेट कार्यान्वयन हुनुपर्‍यो भन्दै सिंहदरबार नै धाउनुपर्ने अवस्था आउन थालेको बताए । 

“विगतमा बजेट माग्न जानुपर्दथ्यो, तर अहिले योजना कार्यान्वयन हुन अवरोध आयो भन्दै ‘डेलिगेसन’ नै जानुपर्ने अवस्था आएको छ”, उनले भने, “ऐन संसोधन प्रक्रिया चलिरहेका बेला सर्वोच्चको आदेशले संशय पैदा गरेको छ ।” उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, वनमन्त्री, वन विभागका महानिर्देशकलगायतलाई भेटेर माडीका मेयर सहितको टोलीले गरेको समझदारीको मसी सुक्न नपाउँदै फेरि अप्ठ्यारो अवस्था आएको बताए । “राजनीतिक नेतृत्वलाई घच्घच्याइरहेका छौँ, जनप्रतिनिधिकै नेतृत्वमा आन्दोलन गर्न चाहन्छौँ”, उनले भने, “निकुञ्जसँग जोडिएका विभेदकारी कानून परिवर्तन हुनुपर्छ ।” निकुञ्ज ऐनले दिनहुँ माडीलाई समस्यामा पार्दै आइरहेको बताए । 

माडी–५ का स्थानीय सुरज अधिकारीले जनतालाई पहिलो प्राथमिकतामा राखेर जंगल र जनावर संरक्षण गरिनुपर्ने बताए । “जनता नै नरहे जंगल र जनावर जोगाएर के हुन्छ ?”, उनले भने, “माडी काञ्जिहाउस होइन, जनता बस्ने नगर हो ।” विश्वसम्पदामा सूचीकृत भएका विदेशका कयौं निकुञ्जभित्र सुविधासम्पन्न बाटोमा पर्यटक रमाउने गरेपनि माडी जाने मुख्य बाटो स्तरोन्नति गर्न गरिएको अवरोध न्यायोचित नभएको बताए । 

“बहुदल, गणतन्त्र मुलुकमा आएपनि माडीले त्यो महसुस गर्न पाएन”, उनले प्रश्न गरे, “बिग्रेका बाटोमा नजिकैको खोलाबाट दुई ट्रिपर गिटीसमेत राख्न नपाइने यो कस्तो परिवर्तन हो ?” प्रदर्शनस्थलमा देखिएका नेकपा माडीका नेता माधव चापागाईंले निकुञ्ज र जनताबीच द्वन्द्व बढाउने गरी सर्वोच्चको आदेश आएको बताए । “माडीका जनताले निकुञ्ज जोगाउँदै आएका छन्”, उनले भने, “तर, ऐनका प्रावधान देखाउँदै विकास रोकिन थाले भने जनतामा आक्रोश पैदा हुन्छ, जुन निकुञ्जको हितमा हुँदैन ।” उनले आदेशविरुद्ध पुनः रिट हालिने बताए । 

सर्वोच्चले निकुञ्जको कार्यालय, युनेस्कोलगायत सरोकारवालाको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र सकड निर्माण नगर्न आदेश दिएको छ । निकुञ्जमा भएका जीवजन्तु, वनस्पति लाई प्रतिकुल असर पर्ने भएकाले निकुञ्जभित्र सडक बनाउँदा सम्पदाको अतिक्रमण हुने, अन्तर्राष्ट्रिय कानूनविपरीत हुने उल्लेख छ । प्रस्तावित ठोरी–माडी–भरतपुर सडक निर्माण हुने चर्चा चलेका बेला सर्वोच्चको आदेशले नयाँ तरंग पैदा गरेको छ । 

माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले प्रस्तावित सडकको ‘ईआईए’ वन मन्त्रालयबाट पास भएको १० दिन पूरा भइसकेकाले वातावरणीय अध्ययनविना सडक नबनाउ भनेर आदेश दिनुपर्ने स्थिति नरहेको प्रतिक्रिया दिए । “निकुञ्जभित्र हाल कुनै सडक निर्माणको काम भइरहेको छैन” ,उनले भने, “सर्वोच्चको आदेश आउनु पहिले नै ईआईएको काम सकिएको छ, ठेक्काको प्रक्रिया अघि बढ्दै छ ।” 

उनले वातावरणीय असरबारे गहिरो अध्ययन भइसकेकाले प्रस्तावित हुलाकी सडक निर्माणमा आदेशले कुनै अवरोध नआउने दावी गरे । उनले निकुञ्ज ऐनकै कारण माडीमा विकासले गति लिन नसकेकाले संशोधन गर्दा स्थानीय सरकारको अस्तित्व रहने गरी बनाउनुपर्ने अडान कायमै रहेको बताए । उनले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने माडीमा निकुञ्जले ऐनका प्रावधान देखाउँदै अवरोध गर्ने क्रम जारी राखेमा आमरण अनसन बस्ने चेतावनी दोहोर्‍याए । 

यसअघि उनले माघ १६ गतेदेखि अनसन बस्ने तयारीबारे केन्द्रीय तहमा पुगेर जानकारी गराएका थिए । तर, माडीमा विकासमा अवरोध आउन नदिने आश्वासन पाएपनि अनसन रोकिएको थियो । यसैबीच निर्माणाधीन ९ पुलको शिलान्यास र विद्युत विस्तारका योजनाको शिलान्यास गर्न पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही १२ गते माडी जाने कार्यक्रम छ । रिमाल, मगुई, बगई, बाँदरमुढे, पतरे, परिउ, टुनामुना लगायतका खोलामा पुल बनाउन ठेक्का भइसकेको छ । 

केही पुलको ईआईए पूरा भएको छ भने केहीको बाँकी नै छ । माडी प्रचण्डको चुनावी क्षेत्र हो । चुनावीसभामा गत मंसिर ११ गते प्रचण्डले माडीलाई ‘मणि’ बनाउने सपना बाँडेका थिए । उनले भनेका थिए, “माडीलाई चितवन जिल्लाकै मणि बनाउने संकल्प बोकेर तपाईहरुको बीच आएको छु ।” उनले चुनावअघि सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा पनि माडीलाई मणि बनाउने उद्घोष गरेका छन् । 

यस्तै मंसिर १७ गते हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “प्रचण्डजीले माडीलाई मणि बनाउँछु भन्नुभएको छ, त्यसमा मेरो पूरै साथ रहनेछ ।” यी आश्वासन अन्ततः कार्यान्वयन आउन नसकेको चर्चा चलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *