आजदेखि प्रदेश एकको विराटनगरबाट पनि श्रम स्वीकृति


विराटनगर। वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
null
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
सोहीअनुरूप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।
मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।
पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यसैगरी सरकारले यही माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।
