चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा

माघ २४, बागलुङ ।  मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ । 

गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङ बजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउनुपर्ने बाध्यता छ । चिहानघाट बनाउन जग्गा नपाइएको मुस्लिम समुदायका अगुवा रहमद हकिम मियाले बताए । “वडा र नगरपालिकामा पटक–पटक माग राख्दा पनि कुनै सुनवाइ भएको छैन,” उनले भने, “हामीलाई साह्रै समस्या छ ।” 

उनका अनुसार अन्तिम संस्कारका लागि शव कालीगण्डकीमा ल्याउँदा हजारौँ खर्च हुन्छ । शवसहित मलामी पनि गाडीमा आउनुपर्दा बढी खर्चिलो हुने गरेको हो । सडक सुविधा नहुँदा दिनभर लगाएर बोकेर ल्याउनुपर्ने अवस्था थियो । गलकोटदेखि कालीगण्डकी नदी किनार ५० किमिको दूरीमा छ । 

null

जग्गाको खोजी भए पनि नपाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनले सार्वजनिक जग्गाको खोजी भइरहेको बताए । 

चिहानघाटलाई संवेदनशील मानिने भएकाले स्थानीय समुदायलाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ । बस्तीदेखि टाढा र स्थानीयवासीले अवरोध नगर्ने ठाउँमा जग्गा व्यवस्थापनको खाँचो देखिएको छ । अन्त्येष्टिको संस्कार भिन्न भएकाले पनि चिहानघाटलाई जग्गा प्राप्त गर्न सजिलो नभएको अन्य समुदायको बुझाइ छ । बागलुङ नगरपालिका–१२ अमलाचौरबाट झण्डै ३५ वर्षअघि व्यापारको सिलसिलामा मुस्लिम परिवार गलकोट पुगेका थिए । 

मुस्लिम समुदायका बालबालिकाले पढ्ने मदरसा पनि समस्यामा छ । जग्गा र भवन नहुँदा छाप्रोमा मदरसा चलाउनुपर्ने बाध्यता छ । नगरपालिकाले वार्षिक रुपमा अनुदान रकम उपलब्ध गराए पनि त्यो पर्याप्त छैन । भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापनमा समेत सघाउनुपर्ने मुस्लिम समुदायको माग छ । ––– 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *