विदेशी लगानी भित्र्याउन मेरो भ्रमण फलदायीः प्रधानमन्त्री

 

माघ १२, काठमाडौं । नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

पाँच दिने डाभोस सम्मेलन (विश्व आर्थिक मञ्चको ४९ औं सम्मेलन) मा भाग लिँदै स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै प्रधान मन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वलाई जानकारी गराउन भ्रमण फलदायी भएको बताए । 

null

‘लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरें ।’ उनले भने–मेरो भ्रमणले नेपाललाई विश्वसामू चिनाउन सफल भएको छ । नेपालको विकासमा स्विजरलेण्डसँग हातेमालो गरेर अघि बढ्ने आधार तय भएको छ ।’ 

ओलीले मञ्चमा भाग लिन आएका विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग आफूले नेपालको सन्दर्भमा अनौपचारिक विचारविमर्श गरेको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले संविधान भन्दा माथि कोहि नहुने भन्दै सबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँगको सम्झौता विपरित भएको भन्ने सवालमा ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’–उनले भने । ओलीले डा. केसीको नाम नलिइकन आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने जिकिर गरे । 

प्रधानमन्त्रीलाई विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका सचिव निमित्त परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *