वाणिज्य बैंकले सहुलियत कर्जा सुरु गर्‍यो

काठमाडौ  । राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । 

सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ । 

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । 

null

सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ । कार्यक्रम शुभारम्भको क्रममा बैंकका अध्यक्षसमेत रहेका सचिव गुरुङले सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो । 

पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ । अधिकारीले सात लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । त्यस्तै, लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई पाँच लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो । 

यस्तो सहुलियत कर्जा सात विविध क्षेत्रमा दिइन्छ । व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितका लागि आवास कर्जाजस्ता बिनाधितो कर्जाको प्रकृतिअनुसार तीन लाखदेखि अधिकतम १० लाखसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरिएको छ । 

महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षी पालनका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । १० लाख माथिको कर्जा लिन भने कम्पनी दर्तादेखि ऋण लिने अरू नियमित प्रक्रिया पूरा गर्नुपर्ने सीईओ श्रेष्ठले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *