पाँच वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता अन्त्य गरिन्छः श्रममन्त्री विष्ट

पुस २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य गरिने बताएका छन् ।
गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।
null
कार्यक्रममा बोल्दै मन्त्री विष्टले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको छ । अबको पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुन्छ ।’
उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताए ।
मन्त्री विष्टले संघीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको भन्दै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने पनि जानकारी गराए ।
आजदेखि सुरु भएको गण्डकी प्रदेशस्थित पोखराको श्रम तथा रोजगार कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्नेछ ।
सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जाने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जाने चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।








