मन्त्री अर्याल भन्छिन् ‘महिलालाई फरवार्डले सक्षम बनाउँदै लगेको छ’

सुनसरी, पुस ३० । लघुवित्त कार्यक्रमले विपन्न परिवारका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन महत्वपूर्ण भुमिका खेलेको भूमि ब्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।  

सुनसरीको दुहवी स्थित फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्थाको छैटौं साधारण सभालाई संवोधन गर्दै मन्त्री अर्यालले गाउँघरमा छरिएर रहेका स–साना पूँजीलाई एकत्रित गर्दै समुदायमै लगानी गरेर फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले महिला शशक्तिकरणका गरीबी निबारणमा समेत सहयोग पुर्याएको उल्लेख गरिन् । 

‘लघुवित्त कार्यक्रमले स्थानीय क्षेत्रका जनताको आर्थिक स्तर उकास्न टेवा दिएको छ । सरकारले पनि सहकारी र लघुवित्त मार्फत गरीबी निवारणमा सहकार्य गरेर जान आवश्यक छ ।’ उनले भनिन् । 

null

 

मन्त्री अर्यालले राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको फरवार्ड माईक्रो फाईनान्सले समुदायमा ऋण प्रवाह गरि गरीबीको रेखामुनि रहेका जनताको जिवन स्तर उकास्न योगदान दिएको उल्लेख गरिन् । मन्त्री अर्यालले अन्य वित्तिय संस्थाहरुको तुलनामा फरवार्ड नमुना वित्तिय संस्थाका रुपमा देशैभर परिचित बनेको बताईन । उनले भनिन्–‘फरवार्डले वास्तवमा गरीबीको चपेटामा पदै आएका महिलाहरुलाई क्रमश सक्षम बनाउँदै लगेको छ । थोरै कर्जा लिएर पनि धेरै स्वरोजगार बनेका छन् । म फवार्डलाई यसका लागि विषेश धन्यवाद दिन चाहन्छु ।’ 

मन्त्री अर्यालले सरकारले अब सबै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरिने र अबको १ वर्षपछी मुलुकमा कोहीपनि सुकुम्बासी नरहने दावी गरिन् । उनले भनिन्–‘अब सरकारले सवै सुकुम्बासी जनतालाई लालपुर्जा वितरण गर्नेछ र अबको १ वर्षपछी मुलुकमा कोहीपनि सुकुम्बासी रहने छैनन् । सबैको हात हातमा लालपूर्जा पुग्नेछ ।’ 

कार्यक्रममा फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स वित्तिय संस्थाकी अध्यक्ष तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य भगवती चौधरीले देशका ३६ जिल्लाका २ लाख ३४ हजार बढि महिलाहरु माझ फरवार्ड पुग्न सफल भएको जानकारी दिइन् । 

चौधरीले माइक्रोफाईनान्सले छोटो अवधिमा उल्लेख्य प्रगती गर्न सफल भएको भन्दै महिला शशक्तिकरणका सवालमा महिलालाई आर्थिक पहुँच विस्तारमा सक्रियतापूर्वक काम गर्दै आएको बताईन् । ‘जवसम्म महिलाको आर्थिक क्षेत्रमा पहुँच हुन्न तवसम्म महिलामाथी हुने हिंसा न्यूनिकरण हुन सक्दैन, यहि भावना बोकेर महिलालाई आर्थिक क्षेत्रमा अगाड बढाउन फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको हो, हामी आफ्नो उद्देश्य प्रति कत्तिपनि विचलित नभइ अगाडी बढिरहेका छौं ।’ उनले भनिन् । 

 

चौधरीले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जिकिर गरिन् । उनले देशका कुनाकाप्चामा शाखा विस्तार गर्दै महिलामा आर्थिक पहुँच विस्तार गर्दै उनीहरुमा ब्यवसायिक दक्षता अभिबृद्धिका लागि समेत संस्था सकृय रहेको र आगामी वर्षहरुमा थप शाखाहरु विस्तार गर्दै लगिने जानकारी दिइन् । 

अध्यक्ष चौधरीले फरवार्ड लघुवित्त कारोबार गर्ने नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्ये सदस्य वृद्धि आकारमा तेस्रो स्थानमा पुग्न सफल भएको बताइन् । ‘छैटौं वार्षिक साधारणसभा गरीरहँदा हामी सदस्यताका हिसाबले नेपालकै तेस्रो ठूलो माइक्रोफाइनान्स हुन सफल भएका छौं, यसको श्रेय म सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति तथा ब्यवस्थापकीय कर्मचारीलाई दिन चाहन्छु ।’ उनले भनिन् । 

संस्थाले देशको गरिबी निवारणका लागि समेत योगदान पुर्याएको छ । संस्थाले ग्रामीण भेकमा बसोबास गर्ने, युवाहरु बेरोजगारीको चपेटामा परेका, वित्तीय अवसर नपाएकाहरुलाई विशेष प्राथमिकतामा राखेका काम गरिरहेको छ । 

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले संस्थाले गरेको प्रगति भरपर्दो र आशलाग्दो रहेको बताए । ‘हामी फरवार्डले प्राप्त गरेको सफलता र महिला शशक्तिकरणमा खेलेको भूमिका प्रति सन्तुष्ठ छौं । आगामी दिन अझ शशक्त भएर अघि बढ्नेछौं ।’ उनले भने । 

 

प्रमुख कार्यकारी अधिकृत चौधरीले वित्तीय संस्थाले हालम्म ३६ जिल्लाका ११३ शाखा कार्यालय मार्फत् २ लाख ३३ हजार ९ सय १६ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको जानकारी गराए । उनले संस्थाले हालसम्म १ लाख ४२ हजार ३ सय ६६ जना ऋणी ग्राहक सदस्यसँग रु. ८ अर्ब ४२ करोड ५ लाख ४५ हजार रकम लगानी गरेको बताए । त्यसैं गरी वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट रु.३ अर्ब ५३ करोड ३ लाख ४१ हजार बचत सङ्कलन गरेको जानकारी दिए । 

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तको वात्तसलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७४/७५ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको थियो । 

 

साधारण सभामा एभरेष्ट बैैँकका तर्फबाट सञ्चालक केशवराज पौडल र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक जगतजंग जि.सी. तथा ग्रामीण महिला उत्सुकता विकास मञ्चका तर्फबाट सञ्चालक सविता दाहालले वित्तीय संस्थाको इतिहास, कार्यक्रम तथा उद्देश्यबारे प्रष्ट पारेका थिए । 

साधारण सभाका अवसरमा नोबेल अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरीएको थियो जहाँ १५० भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको थियो । 

संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गरेको छ । संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति दिएको थियो । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७४ आषार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३०,०१,६५,७००/– को २० प्रतिशतले हुने नगद लाभांश रु ६,००,३३,१४०/– (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो । 

संस्थाले नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम २०७४ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३०,०१, ६५,७००/– को २५ प्रतिशतले हुन आउने रकम रु ७,५०,४१,४२५/– बराबर बोनस शेयरलाई वितरण गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *