गैरकानुनी तवरले सञ्चालित एलेन कलेजविरुद्ध अख्तियारमा उजुरी

माघ ९, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सञ्चालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीभिटीबाट सम्बन्धन नलिई आफूखुसी सञ्चालन गरिएको पाइएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पूर्व क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज आफ्नो मातहत नरहेको स्पष्ट पार्दै गैरकानुनी रुपमा सञ्चालनमा रहेको उक्त कलेज उपर आवश्यक कारबाहीको मागसहितको पत्र काटेपछि ऐलेनका सञ्चालकहरुले आफूखुसी गरेको रहस्य बाहिरिएको हो ।
null
सीटीभिटीद्धारा कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा पठाइएको पत्रलाई प्रजिअले सम्वन्धित निकायसँग बुझी आवश्यक प्रकृया अघि बढाउनु भनि आदेश दिएसँगै उक्त पत्र आजकै मितिमा प्रशासनको दर्ता किताबको १०२७ नम्वरमा दर्ता भएको छ ।
इनरुवा नगरपालिका १ स्थित शान्ती चौक पुर्व तर्फको दुहवी इनरुवा सडक खण्डमा सञ्चालित उक्त कलेज इनरुवाले सम्वन्धित निकायबाट मान्यता नलिई विराटनगरको स्किल फाउण्डेसनसँगको सहमतिका आधारमा प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ ।
स्किल फाउण्डेसनले सीटीईभिटीबाट मान्यता पाएको भएपनि उसले अन्यलाई आफ्नो नामको अधिकार बेच्न नपाउने पूर्व क्षेत्र क्षेत्रीय निर्देशक डा. शिवप्रसाद दाहालले बताएका छन् । स्वयं कक्षा सञ्चालन गर्नु बेग्लै कुरो हो तर आफूले पाएको समवन्धनका आधारमा अन्य प्रालिका नाममा काम गर्ने सहमति र सम्झौता गराउनु गलत भएको दाहालले स्पष्ट पारे ।
नियम विपरित गएर स्किलले कार्य गरेको पाइएकाले उसलाई समेत स्पष्टीकरण सहित ऐलेनसँगको सम्झौता रद्द गरी सञ्चालनका लागि दिइएको भनिएको अनुमति अनुरुपका कार्यक्रम तत्काल बन्द गर्न भनिएको दाहालले बताए । अटेर गरेको खण्डमा स्किल फाउण्डेसनको इजाजतनै रद्दको प्रकृया अघि बढ्न सक्ने दाहालले जानकारी दिए ।
मनोजकुमार मेहता अध्यक्ष र विनोद शर्मा सञ्चालक रहेको ऐलेन कलेजले कम्प्युटर सिस्टम एण्ड डेभलोपर १३२० घण्टाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रम छोटो अवधीको भएको र नियम अनुसार २ सिफ्टमा २० जनाका दरले ४० जना विद्यार्थी मात्र पढाउने पाइने कोर्षमा दोब्बर बढी संख्यामा विद्यार्थी सहभागि गराइनु समेत गलत रहेको सीटीभिटीले जनाएको छ ।
कोर्ष बापत लिइने शुल्क समेत चर्को भएको भन्दै अभिभावकहरुले ऐलेन कलेज इनरुवा विरुद्ध अख्तियारमा समेत उजुरी गरेका छन् । ऐलेनले एक विद्यार्थी बराबर १ लाख २५ हजार शुल्क लिँदै आएको छ ।
कलेज विरुद्ध परेको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाहीको प्रकृया अघि बढाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
उता एलेन कलेजले इनरुवाका अध्यक्ष रहेका मनोज कुमार मेहताले आफ्नो कलेज कानुनी रुपमा सञ्चालित रहेको दावी गरेका छन् । स्थानीय तह र सम्बन्धित निकायमा दर्ता गरी आवश्यक कर समेत बुझाउँदै आएको बताउने मेहताले स्किल फाण्डेसन सीटीईभिटीबाट मान्यता प्राप्त संस्था रहेकाले उसँगको सहमतिमा सञ्चालनमा ल्याइएको आफ्नो कलेज वैधानिक भएको जिकिर गरे ।
मेहताले स्किल फाउण्डेसनले आफ्नो क्षेत्राधिकारमा रही आफ्नो संस्थासँग सम्झौता गरी कलेज संचालनकालागि सहमति दिएको जनाए ।
व्यक्तिगत रिसिवी साध्न आफु र आफ्नो संस्थालाई बदनाम गराउन खोजिएका भन्दै मेहताले कानुनी लडाइँ लड्ने प्रतिकृया दिएका छन् । सीटीभिटी क्षेत्रीय कार्यालयले कारबाहीको प्रकृया अघि बढाएको भन्ने सन्दर्भमा मेहताले क्षेत्रीय कार्यालयलाई वास्तविक नियम कानुनको बारेमा ज्ञाननै नभएकाले केन्द्रिय तहमा कुरो अघि बढाइएको बताए ।
यसैबिच ऐलेन कलेजसँग जोडिएर बाहिरिएको विषयका बारेमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद काठमाडौँसँग बुझ्दा एक संस्थाले पाएको सम्बन्धनका आधारमा अन्यले इजाजत वा सहमति, सम्झौताका नाममा कुनैपनि कलेज सञ्चालन वा शिक्षासँग सम्बन्धित कार्य गर्न नपाइने स्पष्ट पारेको छ ।








