विशिष्ट नारी रत्न अवार्ड प्रसाईंलाई

 

पुस २८, काठमाडौं । काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार कमला प्रसाईं सम्मानित भएकी छिन् । हिजो राजधानीमा आयोजित कार्यक्रममा अमेरिकाको न्युयोर्कमा बस्दै आएकी प्रसाईं ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’द्वारा सम्मानित भएकी हुन् ।  

उनलाई उर्वरा फाउन्डेसन नेपालले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याई विशष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरेको हो ।  

null

फूलको माला, दोसल्ला र ताम्रपत्रद्वारा समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रसाईंलाई सम्मानित गरेका थिए । उक्त कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले प्रसाईंले साहित्यका विभिन्न विधामार्फत् देशमा हुँदा होस् या विदेशमा हुँदा उल्लेख योगदान गरेको बताए । उनले भने, ‘यसकारण प्रसाईं यो सम्मानकी लायक हुन् ।’ 

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले साहित्यकार प्रसाईंको साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए ।  

फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाषी, प्रमुख संरक्षक विकु लामा र कवि रामगोपाल आसुतोसले फाउन्डेसनका गतिविधिमाथि प्रकाश पार्दै ‘साहित्य, कला, संस्कृति, संगीत र समाजसेवाका क्षेत्रमा फाउन्डेसनले विभिन्न कार्यहरू गर्दै आएको बताए । कार्यक्रममा गायक अशोक मुकारुङले लोकगीत सुनाएका थिए ।  

वि. सं. २०२८ चैत्र २८ गते धरान, सुनसरीमा जन्मिएकी प्रसाईंका ‘चितामाथिको लाश’ नाटक, ‘म बिनाको मेरो जीवन’ र ‘साइनोभित्रको मान्छे’ दुई कविता संग्रह प्रकाशित छन् । उनका ‘नबिर्स मलाई’ र ‘नयनका आँसु’ नामक गीति एल्बम समेत प्रकाशित छन् । विभिन्न संघ संस्थामा आवद्ध उनले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरेकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *