स्वस्थानी व्रतमा के गर्ने के नगर्ने ? यस्ताे छ स्वस्थानी व्रत कथाको महिमा र व्रतविधि

 

माघ ७, काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आज सुरु भएको छ । 

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । 

null

स्वस्थानीको देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने विश्वास छ । 

एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रत एकदमै कठिन व्रत हो । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । 

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । 

विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । 

व्रत बस्ने अघिल्लो दिनदेखि नै यसको तयारी सुरु हुन्छ । व्रत बस्ने महिलाले अघिल्लो दिनदेखि नै आफ्नो हातखुट्टाको नङ काटी स्नान गरेर आफूलाई शुद्ध राख्नुपर्छ । 

व्रत सुरु भएपछि व्रतालु महिलाले हरेक दिन स्नान गरेर स्वस्थानी माताको पूजा आरधना गर्नुपर्छ । हरेक दिन साँझ परिवार हुनेले समूहमा बसेर तथा नहुने एक्लै बसेर भएपनि स्वस्थानी व्रतकथा वाचन गर्नुपर्छ । 

काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा स्थानहरूमा व्रत अवधिभर मेला लाग्ने गर्दछ । 

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव पति पाउँ भनि बसेकी यो व्रतमा हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नुपर्दछ । 

 

व्रतको सुरुवातदेखि नसकिँदा सम्म व्रतालुले पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नुपर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ । ब्रतालु पुरुष भएमा व्रत नसकिँदा सम्म रौं काट्न पनि हुँदैन । 

त्यसै दिन देखी एक महिना सम्म कसैसंग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्ध धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गएपछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु ब्रतका अनिवार्य नियमहरू हुन् । 

पूर्णिमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर ,गोमुत्र, दुध , दहि र घ्यू) का साथै तिल ,सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । 

त्यसपछी त्यसै अभिशेकबाट ‘मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्तिहोस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गरी ब्रतको सुरुवात गर्नु पर्दछ । 

त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्यपछी मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ । 

दिप गणेश र कलशको पूजा सम्पन्न भैसकेपछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नुपर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानिमाताको स्थापना गर्नु पर्दछ । 

श्री स्वस्थानी माताको अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । 

 

प्रत्येक दिन बिहान दिप, गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले गर्नुपर्दछ । 

पूजा पछी दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछः 

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।। 

मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नूपर्दछ । पूजापछी आफूले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अघ्र्य दिनुपर्दछ । 

साँझको पूजापछी श्री स्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफैँ कथा वाचन गर्ने र आफैँ सुन्ने गर्नुपर्दछ । 

कथा वाचन आफूले गर्न नसके कुनै ब्राह्मणद्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनुहुँदैन । 

कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । 

कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसकेपछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नुपर्दछ । कथापछी आरती गर्नुपर्दछ । 

आरतीपछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो । यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउँछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता सँगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । 

यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । 

अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्दछ । 

ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरिएको छ । 

यतिगरी सकेपछी श्री स्वस्थानी माताको प्रसादले ब्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरीएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *