बम दिदीबहिनीले भने, ‘दोषी प्रमाणित भए जेल जान तयार छौं’

माघ १४, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा शंकाको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दो ष भएको दाबी गर्दै न्याय तथा सुरक्षाको माग गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बबिता बम र रोशनी बमले आफू निर्दोष हुँदा पनि आफ्नो चरित्र हत्या भएको बताए ।
null
बम दिदीबहिनीले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे’, रोशनीले भनिन्, ‘,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे । मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’
दिदी बविता बमले सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरिन् । ‘सामाजिक वेइज्जति भएको छ । दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटा छन् । कुनै सत्य छैन । उनले झुटो कुरा लेखेर हाम्रो बद्नाम गरे । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं’, बबिताले भनिन् ।
बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको बताइन् ।
अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै भनिन्, ‘प्रहरीले आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो । वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन तथा आफूहरुको पीडा हटाइदिन बहिनी रोशनीले सरकारसँग अपिल गरिन् ।
‘यतिबेला मलाई एकातिर आफ्नो साथी गुमाउँदाको पीडा छ भने, अर्कोतर्फ म र मेरो परिवारका सदस्य सामाजिक रुपमा वहिष्कृत, अपमानित र नारकीय जीवन विताउन वाध्य भएका छौं’, रोशनीले भनिन्, ‘म र मेरो परिवारका सदस्य घर बाहिर जाने अवस्था छैन, हामी आफ्नै घर भित्रै नजर बन्दको अवस्थामा छौं ।’
सामाजिक अभियन्ता सावित्री सुवेदीले वास्तविक अपराधी पत्ता लगाइ सरकारले कारवाही गर्नुपर्नेमा जोड दिँदै शङ्काको घेरामा रहेका बम दिदीबहिनीको घरमा पुगेर सबै कुरा बुझ्दा हालसम्म दोषी प्रमाणित हुने कुनै सबुत नपाएको बताईन् ।
बम दिदीबहिनीका आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दाबी गरिन् । उनले मानव अधिकारकर्मीले गलत प्रतिवेदन दिएको तथा सञ्चारकर्मीले पनि अनावश्यक केरकार गरी दुःख दिएको बताइन् ।








