सुनसरी मालपोतः जहाँ घुस नखुवाई काम बन्दैन

माघ १६, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु सामान्य कामका लागि पनि सेवाग्राहीसँग पैसा (घुस) माग्ने गरेका छन् । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले खुलेआम पैसा (घुस) लिइरहेका छन् ।
विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गरेको स्वयम लेखापढि व्यवसायीहरुले खुलासा गरेका छन् । सुनसरी मालपोतमा सबै भन्दा बढी भ्रष्टाचार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तराष्टिय संस्था ट्रान्सपरेन्सि इन्टरनेशनल समेतले औल्याएको छ ।
null
पत्रकार र अधिकारकर्मीहरुले सुनसरी जिल्ला मालपोत कार्यालयमा गरिएको रिपोटिंङ र अध्ययनबाट सेवाग्राहीले लिखतको मोठ भिडाउन, लालपुर्जा लिदाँ, दृष्टि बन्धकको सिफारिस गर्दा समेत सय रुपैँया देखि ५ सय रुपैँया सम्म घुस दिनुपर्ने बाध्यता पाइएको छ ।
मातपोत कार्यालयका हाकिम देखि पिउनसम्म विना पैसा कामै नगर्ने सेवाग्राही रामकुमार शाहले बताए । ‘जग्गा नामसारीका लागि फाँटमा गएको लेखापढीका मान्छे ल्याउनु भने, लेखापढीकाले पाँच सय बढि दिनुस काम हुन्छ भन्छन् ।’ उनले भने । सिधै सेवाग्राहीसँग मोलमोलाई नगरेपनि घुमाउरो भाषामा लिखतको संख्याका आधारमा लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले वार्गेनीङ गर्ने नेपाल लेखापढि ब्यवसायी एशोसिएसन सुनसरीका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए ।
‘लाखौंको कारोबार हुँदा घरजग्गा पास गरिदिएपछि सामान्य हजार पाँच सय खर्च गर्नु ठूलो कुरा हैन, सेवाग्राहीले समेत पैसा माग्दा प्रतिवाद गर्दैनन् त्यहि भएर घुसखोरी बढ्यो ।’
अध्यक्ष आचार्यले मालपोत कार्यालय धेरै जमघट हुने र सम्पतीको कारोबार हुने ठाउँ भएकाले दुई चार सय रुपैँयाको खर्चलाई सेवाग्राहीले सामान्य रुपमा हेर्ने भएकाले समेत घुसखोरी बढेको बताए । ‘लाखौंको कारोबार हुँदा घरजग्गा पास गरिदिएपछि सामान्य हजार पाँच सय खर्च गर्नु ठूलो कुरा हैन, सेवाग्राहीले समेत पैसा माग्दा प्रतिवाद गर्दैनन् त्यहि भएर घुसखोरी बढ्यो ।’ उनी भन्छन् ।
मालपोत कार्यालय मालपोत अधिकृत मातृका दंगालले भने कार्यालयमा कुनै घुसखोरी नभएको जिकिर गरे । लेखापढी व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुख देखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको विषयमा उनले आफुलाई जानकारी नभएको बताए । उनले लेखापढी व्यवसायीले कर्मचारीको बदनाम गराउन त्यसो भनेको प्रतिकृया दिए ।सेवाग्राहीहरुले भने सबै शाखामा घुस नदिई कामै नहुने बताएका छन् ।
अतिरिक्त रकम वा घुस नदिएसम्म मोठको काम, कम्पुटरमा इन्ट्रि गर्ने काम वा कम्युटरमा फोटो खिच्ने काम या लालपुर्जा दिने काम समेत सहज रुपमा नहुने बताएका छन् । सुनसरी देवानगञ्जका सेवाग्राही भरौसी यादव र भोक्राहा नरसिंहका गोपाल कुमार मण्डलले मालपोतमा मोठ भिडाउनेदेखी पुर्जा पाउनेसम्म विना पैसा कामै नभएकाले एक हप्तासम्म धाउनुपरेको गुनासो गरे । मेहताले मालपोतमा अनलाईन सेवाको नाममा थप सास्ती र घुसरोखरी बढेको बताए । ‘भने अनुसार पैसा दियो भने, नेटले काम गर्छ नदिए नेट विग्रेको भन्दै कर्मचारी पन्छिन्छन् ।’ उनी भन्छन् ।
मालपोत कार्यालयको रोक्का र फुकुवाको चिठि दिने शाखामा समेत एक सय रुपैँया देखी तीन सय रुपैँयासम्म घुस खुवाउनु पर्छ । आईतबार, सोमबार र मंगलबार इनरुवाका सञ्चारकर्मीहरुले सेवाग्रहीहरुको गुनासो सुनेर यर्थाथ जान्नका लागि कार्यालय पुग्दा त्यही दृष्य फेला परे ।
सेवाग्रही थिए सुनसरी इनरुवाका भोलादेवी यादव । उनी कृषि विकास बैंकबाट ऋणका लागि जग्गा दृष्टबन्धक राख्नका लागि आएकी थिइन् उनी आफैँ ऋण खाने अरुलाई घुस कसरी खुवाउने भनेर आफै कागजात सहित लाईनमा बसिन् तर, लेखापढी ब्यवसायीको अनुहार हेरेर काम गर्न पल्केका मालपोतका कर्मचारीले भोलादेवीलाई चिनेनन् ।
रामधुनी नगरपालिका २ की एक सेवाग्राहीले समेत आफ्नो काम आफैं गराउने चार ठाउँमा १ सय देखी ५ सय रुपैँयासम्म दिदाँ दुई हजार भन्दा बढि खर्च भएको बताइन् । ‘राजस्व वाहेक हजार पन्ध्र सय खर्च गरेन भने काम गर्दिदैनन् । कम्प्युटर विग्रियो, नेट चलेन केके भनेर टार्दिन्छन् ।’ उनी भन्छिन् ।
भूमिसुधार गरिबि तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले मालपोत कार्यालयमा हुने घुस खोरी नियन्त्रण गर्ने घोषणा गरेपनि त्यो भाषणमा सिमित भएको छ । सुनसरी मालपोत कार्यालय देशभरीका मालपोत कार्यालय मध्ये बढि घुसखोरी हुने ठाउँ भएपनि नियन्त्रणका लागि सरोकारवाला निकाय मौन बसेका छन् ।








