ओमानसँग श्रम सम्झौताको तयारीका लागि नेपाली टोली शनिबार ओमान जाँदै

काठमाण्डौ – ओमानसँग श्रम सम्झौताको तयारीका लागि नेपाली टोली शनिबार ओमान जाँदैछ । सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय टोलीले ओमानको प्रस्तावमा छलफल गरेर आफ्नो प्रस्ताव तयार पारेको छ ।  

नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।  

null

शनिबार ओमान जाने नेपाली टोलीले आइतबार र सोमबार वार्ता गर्नेछ । ओमासँगको वार्तापछि टोली त्यतैबाट यूएई जानेछ । यूएईसँग बुधबार र बिहीबार छलफल हुनेछ । यूएईसँग भने यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ । यूएईसँग सन् २००७ मा एमओयू भएको थियो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो । 

दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ । टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेछ ।  

काठमाण्डौमा सम्पन्न नेपाल कोलम्बो प्रोसेसको बैठकले शून्य लागतमा कामदार पठाउने निर्णय गरेको र जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) का धेरै सदस्य देशहरु पनि शून्य लागत कार्यान्वयन गर्न सहमत भएकाले नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी शून्य लागतमा समझदारी गर्न लागेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *