तिम्रो लोग्ने र म -कथा

 

सौभाग्य हो कि दुर्भाग्य म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भइसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता गराइसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नुभन्दा पहिले नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरुँगरुँ लाग्ने उसको अनुहार ठ्याक्कै उसको कविता जस्तै सुन्दर लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भइसकेकी थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यस दिन कार्यक्रम सकियो । 

‘म तपाईंसँग फोटोे खिच्छु नि ।’उसलाई नछोईकनै उभिएँ म । मेरो क्यामरा अरुले नै क्लिक गर्दियो । म दङ्ग परेँ । कुरा कहाँबाट सुरू गर्ने कुनै आपत्तिको विषय थिएन ।‘मलाई तपाईंको कविता असाध्यै मन पर्छ । दोहोर्याएर समेत पढेकी छु ।’ त्यो बेला तिम्रो लोग्नेले मेरो कुरा सुनेर मख्ख पर्दै भनेको थियो, ‘ओ रियल्ली ? तपाईं पनि लेख्नुहुन्छ ।’‘म त लेख्दिनँ । लेख्न आउँदैन । तपाईंहरुले लेखेको पढ्न सोखिन छु ।’मज्जाले हाँस्यो । आँखामा आँखा जुधाएर सोध्यो, ‘तपाईंको हबि ?’‘मेरो हबि भनेको, मलाई मन परेको सृजनाको सर्जकलाई भेट्नु हो ।’‘आज मनपर्ने कसलाई भेट्नुभयो त ?’‘तपाईंलाई । तपाईंको त्यो चर्चित कविता ‘आँसुको रगत’ पढेदेखि नै तपाईंलाई भेट्ने रहर उम्लिरहेको थियो । अझ तपाईं त यस्तो उमेरकै हुनुहोला भन्ने लागेको थिएन ।’ऊ फेरि हाँस्यो ।‘साँच्चै हो र ?’ शङ्का व्यक्त गर्यो उसले । शङ्कालु त आइमार्ई पो हुन्छन् भन्थे ।‘हो नि । आज भगवान् भेटेझैँ भएको छ मलाई ।’‘मान्छेलाई मान्छेकै रुपमा स्वीकार्नु राम्रो होला कि !’हामी त्यस दिन छोटो कुराकानीपछि नै छुट्टियौं । तिम्रो लोग्नेलाई टाढा पुग्नु थियो । कार्यक्रम स्थलको जिल्ला भन्दा ठ्याक्कै जोडिएको अर्को जिल्लाको मान्छे थियो ऊ । म भने त्यहीँकी थिएँ । कुनै हतार थिएन । मेरो घर नजिकै थियो । तिम्रो लोग्नेले सबैसँग बिदा लिएर बाइक स्टार्ट ग¥यो । मतिर हेर्दा पनि नहेरी गए । 

null

मलाई रिस उठिरहेको थियो । दुई दिनसम्म फोन गरिनँ । पछि एसएमएस गरेँ । त्यस दिन खिचेको फोटोे उसले इमेल गर्दिनु भनेको थियो । यता मेरो क्यामेरा बिग्रिएर सबै फोटोे डिलिट भएका थिए ।‘सरी, क्यामरा बिग्रियो । फोटोे पठाउन सकिनँ ।’तिम्रो लोग्नेको उत्तर आयो । 

‘नो प्रोब्लम, तिम्लाई कस्तो छ ? यतिखेर म तिमीलाई नै सम्झँदै थिएँ ।’उसको एसएमएसले म त दङ्गदास बनेँ । त्यो दसैंको बेला थियो । म दसैं मनाउन घर गएकी थिएँ । विगत १० वर्षदेखि काठमाडौंमै बस्दै आएकी छु । तिम्रो लोग्ने मोफसलमै बस्थ्यो । ऊ राम्रो कविता लेखेर देशभरि चर्चित बनेको थियो । तिम्रो लोग्ने लेक्चरर पनि रहेछ । होइन ? 

म दसैं सकेर काठमाडौं आएँ । नियमित काममा लागें । शनिबार अथवा बिदाको दिनमा म साहित्यिक माहोलमा रम्थेँ । यसो गर्न मेरो मन र विवेकले अह्राउँथ्यो । एक दिन म गुरूकुलमा कविता सुन्न गएकी थिएँ । त्यो बेला उसलाई देखेर चिच्याएँ म त…। वरिपरिका मान्छेहरु पनि ट्वाल्ल परेर हेर्याहेर्यै भए । तिम्रो लोग्ने पनि अलि अप्ठ्यारो मान्दै थियो क्यारे । 

‘तपाईं कसरी काठ्माडौं ?’‘म आजकाल यहीँ बस्छु ।’‘मलाई किन खबर गर्नु भएन त ?’‘यसै गरी यहीँ भेट हुन्छ भन्ने थाहा भएर ।’दुवै मज्जाले हाँस्यौं । त्यो दिन त्यतिमै सीमित रहेन । उसले कोठा पुगेर फोन गर्यो । घर छोडेर एक्लै कोठामा बसेको पहिलो अनुभव भएको सुनाउँदै थियो । मलाई यही बेलादेखि उसको माया लाग्न थालेको थियो क्यारे ।‘एक्लै केटा मान्छे, खाना–बनाउन भाँडा माझ्न अल्छी लाग्दैन ?’‘लागेर के गर्नु त अब ?’‘म आइदिऊँ त ?’‘आउँछौ ? आऊ न त ।’‘तलब कति दिनुहुन्छ त ?’‘थाउजेन्ड किसेस …घन्टाको ।’मलाई लाज लाग्यो । कोठामै आएर चुम्बन गरेको आभास भयो । एउटा मीठो नरम अनुभूति ।‘भो, त्यसो भए आउँदिनँ ।’सुन्छौ ? तिम्रो लोग्ने त मभन्दा अगाडि निस्कियो । मलाई पो ऊ मन परेको थियो त…,उल्टो ऊ नै पो मलाई…हाँसो पनि लाग्यो । पत्यार पनि लागेन ।‘पत्याएनौ ? आइ एम रियल्ली फल इन लभ विथ यु बेबी ।’‘होइन होला ।’ शङ्का व्यक्त गरेँ मैले ।‘पहिलो पटक तिमीलाई देख्नेबित्तिकै, यति राम्री स्मार्ट केटी को होली भनेर तिमीमै मेरो सारा ध्यान थियो । मञ्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेको थिएँ म । तिमीलाई नै सोच्दै थिएँ म…।’ 

यो एसएमएस चाहिँ मैले दोहोर्याएर पढेकी थिएँ । छक्क परेँ । रमाइलो पनि लाग्यो । मैले पनि त्यो बेला मञ्चमा दश जनामध्ये उसैलाई हेरिरहेकी थिएँ । अझ मञ्चमै उसको अटोग्राफ लिन गएकी थिएँ । एक रात उसले फोन गर्दा २ घन्टा १५ मिनेट ८ सेकेन्ड भएको थियो । तिमी अनुमान पनि लगाउन सक्दिनौ घन्टौंं के गफ गर्यौं हामीले भनेर । भोलिपल्ट बिहान, तिम्रो लोग्नेको एसएमएस आँखा मिच्दै पढे ।‘हाइ, स्वीटहार्ट, आर यु अल राइट ?’ 

‘म पहिले पो बिसन्चो थिएँ क्यारे तपाईंसँग कुरा गरेपछि बल्ल पो सन्चो भएँ ।’ 

सुन्यौ, अब कुरै कुरामै हामीबीच कुनै दूरी बाँकी थिएन । मैले पनि उसलाई प्रेम गरेको आभास दिइसकेकी थिएँ ।ऊ भन्थ्यो, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन । शरीर र मन सँगै हुन्छन् । मलाई पनि उसको कुरा हो जस्तै लाग्यो । आत्मिक र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि…। तिम्रो लोग्नेले भने जस्तै मन र शरीर एउटै त हो नि भन्ने पक्षमा गएँ म पनि । खै के हो ? तिम्रो लोग्नेले जे बोल्यो त्यही चित्त बुझ्छ । त्यही कुरा हो झैँ लाग्छ । अरु सब झुट । आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिए तिम्रो लोग्नेका अगाडि । 

उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार, म पहिलो पुरूष होइन घरमा स्वास्नी भएर पनि अर्कोसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवती थिइनँ जो अरुको लोग्नेसँग प्रेम गर्दै छे । हामी भेट्थ्यौं । सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो त्यसैले निजी र साँघुरो ठाउँमा भेट्थ्यौं हामी । 

आधा रातमा ब्युँझिएर पनि उसैलाई सम्झन थालेकी थिएँ । तिम्रो लोग्ने मेरो धड्कनको नसा बनेको थियो । 

एक दिन ऊ घर गयो । मलाई काठमाडौं नै शून्य लागेर आयो । उसको रिक्ततामा पहिल्यै पढिसकेको उसको कविताको किताब झिकेर पल्टाउन थालेँ । थाहा छ तिमीलाई ? जब त्यो किताबको लेखकीय पढेँ नि ! म त छाँगाबाट खसेझैं भएँ । ऊ त तिम्रो लोग्ने भइसकेको रहेछ । अझ विवाहको साक्षी चार वर्षकी छोरीसमेत रहिछे । उफ् ! छट्पटी भो । असाध्यै रिस उठ्यो । तत्काल तिम्रो लोग्नेलाई फोन गरेँ । 

‘तिम्ले किन भनेनौ यी सब कुराहरु ?’ (तिम्रो लोग्नेलाई तिमी भन्ने भइसकेकी थिएँ म)‘के कुरा ?’‘तिम्रो त छोरीसमेत रहेछ ।’कुनै आश्चर्य नमानी भन्यो उसले, ‘छे त छोरी, के तिम्लाई थाहा थिएन र ?’‘कहिल्यै सुनाउने कष्ट ग¥यौ र ? नभनी कसरी थाहा हुनु नि !’‘अहिले कसरी थाहा पायौ ?’‘तिम्रो किताबमै रै‘छ नि त ।’‘हो त । मैले मेरो किताबमै लेखेको कुरा तिम्लाई थाहै होला भनेर, भन्न जरूरी ठानिनँ ।’हुन पनि हो । तिम्रो लोग्नेको के दोष ? उसले त तिम्राबारे सार्वजनिक गरेकै रहेछ, मैले पढिनँ त के गर्नु…?त्यसपछि तिम्रो लोग्नेको माया मार्नुपर्ने हो मैले । तर त्यसो भएन । झन् झाँगियो हाम्रो अवैध प्रेम…। 

उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार, म पहिलो पुरूष होइन घरमा स्वास्नी भएर पनि अर्कोसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवती थिइनँ जो अरुको लोग्नेसँग प्रेम गर्दै छे । हामी भेट्थ्यौं । सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो त्यसैले निजी र साँघुरो ठाउँमा भेट्थ्यौं हामी । भेटभन्दा बढी फोनमा कुरा हुन्थ्यो । ऊ अफसोस व्यक्त गथ्र्यो, हाम्रो भेट ढिलो भयो भनेर । उसको कुरामा म मैनझैँ पग्लिएकी थिएँ । हामीले एउटा उज्यालो सँगै स्वागत गरेका थियौं । त्यसपछि झन् तिम्रो लोग्ने संसारको प्रिय प्रेमी बन्यो मेरा लागि । 

यो कुरा त तिमीलाई पनि थाहै छ । अचानक ऊ बिरामी भयो । तिम्रो लोग्नेको हेरविचारका लागि तिमी आएको दुई दिन पछि बल्ल मलाई आफू बिरामी भएको कुरा सुनाएको थियो । 

पहिलो पल्ट ब्रह्मज्ञान भो मलाई, ऊ त केवल तिम्रो लोग्ने हो भन्ने कुराको । बिरामी भएर त्यति टाढाबाट तिमी आयौ, म उसको छेउमै बसेर पनि मलाई थाहासम्म दिएन । कस्तो सम्बन्ध हो यो ? मैले पनि उसलाई तिमीले झैँ हस्पिटल लैजान सक्थेँ । जाउलो पकाएर खुवाउन सक्थेँ । किन तिमीलाई नै बोलाउन जरूरी भयो ? ननिको लागेको थियो मलाई । उसलाई देखाएरसमेत माया गर्न सक्दिनथेँ म । उसलाई सन्चो भइसकेको थिएन । तिमी पनि घर फर्किसकेकी थिइनौ । डाक्टरकोमा आउँदा उसले मलाई भेट्यो । ऊ आउनुपर्ने डाक्टरको क्लिनिक र मेरो अफिस सँगसँगै थियो । उसलाई भेट्न पाएकामा म असाध्यै खुसी थिएँ । अलि दुब्लाएको रहेछ ऊ । मैले उसका लागि फलफूल र अरु खाने कुरा किनेकी थिएँ । त्यो किनिरहँदा मलाई अनौठो आनन्द लागेको थियो । यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो लोग्नेसँगको । तिमीसँग अकाट्य सम्बन्ध रहेछ उसको । त्यो तिमी स्वयं पनि जान्दिनौ होली…,मैले किनेको केही सामान पनि लगेन । मलाई दोस्रो पल्ट असाध्यै नराम्रो लाग्यो । अर्काको लोग्नेलाई माया गर्नु निरर्थक लाग्यो । कस्तो प्यारसँग किनेकी थिएँ । फगत तिम्रो कारणले…। तिम्ले शङ्का गछ्र्याै भन्ने भयले…। तिम्रो मन दुख्ला भन्ने कत्रो चिन्ता ? बिचरा, मेरो दिलको हालत तिम्रो लाग्नेलाई के मतलब ? 

सुन्छ्यौ ? तिम्रो लोग्नेलाई प्रेम गर्दाको पनि सजाय भोगेँ मैले । कोठामा आएर धेरैबेर रोएँ । तिम्रो लोग्नेसँग भएका कुरा र बिताएका पल आँसुले नै धोइदिएँ । केही पछि नै मन हल्का भो । चैनसँग सास फेरेँ । हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एकअर्कालाई प्राप्त गर्नु थियो । बस्, हामी प्रेम गर्थ्यौँ । प्रेम गर्थ्यौँ भन्ने भ्रममा रहिछु म । अब त त्यो पनि बाँकी रहेन । अचम्म अचम्मको प्रेम मैमाथि हुनुपर्ने ? कहिले मान्छेको रुपरङ्ग मन परेर त्यसैमा दिल खस्छ, कहिले लेखेको कुरा मन परेर त्यही लेखकसँग दिल बस्छ । त कहिले…, साँच्चै त्यो बेला पनि तिम्रो लोग्नेसँग मेरो प्रेम बसेकै थियो । अब छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *