संसदमा तनावको पूरै तयारी : बैठककक्षमै मर्यादापालक, आवश्यक परे प्रहरी हेडक्वार्टरबाट मगाउने

काठमाडौं । शुक्रबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन् । आज संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको होे ।
शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर, कांग्रेस जुनकुनै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरूले दिएका छन् ।
null
दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
संसद् बैठकमै सय मर्यादापालक खटाइनेछन् । ‘आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ,’ मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने । आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राखिने उनले बताए ।
संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडानमा नेकपा छ । कांग्रेसले भने सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान थपेको छ ।
यसअघि उसले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएकोमा संसद अवरुद्ध गर्दै आएको छ ।








