छोटी भन्सार कार्यालयका हाकीम सर्वसाधारण जनता

 

पुस ३०,नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा कर्मचारीबाट नभई सर्वसाधारणबाटै हुने गरेको पाइएको छ । वर्षौंदेखि छोटी भन्सार कार्यालयमा तोकिएका कर्मचारी नियमित नजाँदा भन्सार कार्यालयमा खटिएका बाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाएको हो । 

पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यहाँ वर्षौंदखि स्थानीयवासी मन्सुर अलीले सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दैै आइरहेका छन् । छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध गराएको कागजातका आधारमा सेवा प्रवाह गर्दै आएको अलीले बताए । 

null

खटिएका कर्मचारी नियमितरुपमा कार्यालयमा नआउने भएकाले कार्यालयको सबै काम आफैं गर्दै आएको उनको भनाइ छ । नवलपरासीमा गुठीप्रसौनी सहित विष्णुपुरा, भुजहवा र त्रिवेणी गरी चार वटा छोटी भन्सार कार्यालय रहेका छन् । सबै छोटी भन्सार कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि अस्थायी अनुमति दिने काम गर्दछन् । त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा समेत भन्सारका कर्मचारी नभई अन्य बाह्य सर्वसाधारणले दैनिक काम काज गर्दै आएको महेशपुर मूल भन्सार कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेश अन्तर्गत पर्ने पूर्वी नवपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा खटिएका कर्मचारी बस्दैनन् । महेशपुर मूल भन्सार कार्यालयबाट सबै छोटी भन्सार कार्यालयमा चक्रीय प्रणालीमा कर्मचारी खटाइने भए पनि छोटी भन्सार कार्यालयमा नियमितरुपमा कर्मचारी जाने गरेका छैनन् । भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले कर्मचारी अभावमा गुठीप्रसौनी, त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा अन्य बाह्य सर्वसाधारण व्यक्तिले सेवा प्रवाह गर्दै आएको स्वीकार गरे । 

केही महीना अघि मात्र स्तरोन्नति भएको महेशपुर मूल भन्सार कार्यालयमा समेत दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा कर्मचारी पठाउन नसकिएको महेशपुर मूल भन्सारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *