देश विकासमा तरुणहरुको भूमिका महत्वपूर्णः सिजन गुरुङ

माघ ११, सुनसरी । युवाहरुमा सामाजिक भावना अभिप्रेरित भए देश विकास र समुन्नत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुन सक्ने नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य सिजन गुरुङले बताएका छन् ।
नेपाल तरुण दल केराबारी गाउँपालिका कार्य समितिद्वारा केराबारी –४ च्युरी भन्ज्याङ गाउँपालिकाको जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थीलाई जाडोको स्वेटर वितरण गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सो कुरा बताएका हुन् । युवाहरुलाई सामाजिक काममा अभिप्रेरित गरे उनीहरु विभिन्न दुब्र्यसनमा फस्ने संभावना कम हुने तथा मानसिक रुपमा सकारात्मक विचार सञ्चय हुने गुरुङले बताए ।
null
‘मुलुकको विकास र समाज परिवर्तनका लागि युवाहरुको साथ र सहयोग अपरिहार्य छ, यस्ता सामाजिक कामले युवाहरुलाई प्रोत्साहन समेत गर्ने भएकोले तरुण दल युवाहरुलाई साथ लिएर अघि बढ्न चाहन्छ ।’ उनले भने ।
गुरुङले तरुण दल नेपाली कांग्रेसको भातृसंगठन मात्र नभएर सम्पूर्ण यूवाहरुको साझा संस्था भएकोले तरुण दलले सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको जिकिर गरे । साथै उनले तरुणहरुलाई राजनीतिक कार्यक्रममा मात्र सिमिति नराखी सामाजिक काममा समेत अभिप्रेरित गर्ने तरुण दलको उद्देश्य रहेको बताए ।
कार्यक्रममा सो विद्यालयका ५० विद्यार्थीलाई टोपी र स्वेटर वितरण गरिएको थियो । यस अघि तरुण दल केराबारी गाउँपालिकाले सोहि विद्यालयमा २० थान स्वेटर र टोपी वितरण गरिसकेको केराबारी गाउँपालिका तरुण दल अध्यक्ष पप्पु शाहले बताए ।
कार्यक्रममा तरुण दल महाधिवेशन प्रतिनिधि अनुरोध शाह, जिल्ला सदस्य सुकदेव राई लगायत तरुणहरुको उपस्थिति रहेको थियो ।








