शिक्षण पेसासँगै व्यावसायिक माछापालन गर्दै कैलालीका प्रमोद

 

मंसिर २९, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का प्रमोद साउँद पेसाले शिक्षक हुन् । उनी वडा नम्बर ४ स्थित कालिका माध्यामिक विद्यालयमा अध्यापन गर्छन् । 

२०६५ सालदेखि शिक्षण सेवामा लागेका शिक्षक साउँदले केही समयदेखि व्यावसायिक रूपमा माछापालन पेसा समेत अँगालेका छन् । उनले ‘हाम्रो कृषि फर्म’ दर्ता गरेर माछापालन गरिरहेका छन् । 

null

एक वर्षअघि आठ बिघा क्षेत्रफलमा रहेको पोखरीमा माछापालन सुरु गरेका उनले पुरैना सामुदायिकमा बनको पोखरी पाँच वर्षका लागि ठेक्कामा लिएका छन् । 

१२ लाख रुपैयाँको लगानीबाट माछापालन सुरु गरेका उनको तालमा कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु, पंगास र नैनी जातका माछापालन गरिएको छ । 

 

शिक्षणसँगै व्यवसायिक रूपमा माछापालन सुरु गरेको बताउँदै उनले भने– “खाली समय त्यत्तिकै बस्नुभन्दा केही व्यवसायिक कामको थालनी गरेर आम्दानी बढाउनुपर्छ भन्ने लागेपछि माछापालन सुरु गरेँ ।” 

शिक्षक साउँदका अनुसार स्थानीय सडकपुर बौनिया, मुडा र सुखड बजारमा माछाको उच्च माग रहने गरेको छ । उनले मत्स्य विकास केन्द्र सुखडबाट एक लाख २० हजार माछाका भुरा तालमा हालेको बताए । 

वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका उनले कृषि व्यवसाय गर्ने मनसाय भएका धेरै यूवाले आर्थिक लगानीको अभावका व्यवसाय अंगाल्न नसकेकाले सहुलियतपूर्ण अनुदान र तालिमका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । 

स्थानीय स्तरमा सबैले यूवालाई राजनीति भन्दा कृषि पेशामा आकर्षण बढाउने खालका योजना तथा कार्यक्रम मार्फत् प्रेरणा दिनुपर्ने उनको भनाइ छ । 

 

कृषि उद्यम गर्ने युवाका लागि स्थानीय तहले व्यावसायिक स्वरोजगारका कार्यक्रम ल्याउन नसकेको साउँदको गुनासो छ । 

माछापालनका लागि उपयुक्त हावापानी भएको जिल्ला समेत मानिने कैलालीमा राम्रो प्रतिफल प्राप्त हुने भएपछि गाउँपालिकाको अन्य वडाका यूवाले समेत अहिले माछापालन गर्दै आएका छन् । । 

बर्दगोरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा कृषि उत्पादन बढाउन सिंचाई सुविधाको प्रबन्ध गर्ने, कृषि कर्जा सरल बनाइ सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था मिलाउन पहल गर्ने, कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायमूखी बनाउँदै तरकारी, दूध, माछामासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । 

गाउँसभाबाट पारित भएका नीति तथा कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न सकेको अवस्था छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =