आजदेखि नेपाल साहित्य महोत्सव

कास्की। बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु हुँदैछ ।  

‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी हुँदैछन् । महोत्सवमा सहभागी हुने अन्तर्राष्ट्रिय लेखकहरुमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियरलगायत रहेका छन् । 

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल साहित्य महोत्सव भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको बताउँछन् । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ ।  

null

महोत्सवकाका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाई छ ।  

महोत्सवको उद्घाटनका प्रमुख अतिथि नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान पुर्याएका जर्ज जोन र एलियाम्मा जाने रहेका छन् । महोत्सवको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि सहभागी हुनुहुनेछ । 

महोत्सवको उद्घाटनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विद्वत प्रवचन दिनुहुनेछ भने पत्रकार तथा लेखक हरिबहादुर थापाले परिचयात्मक मन्तव्य दिनुहुनेछ ।  

महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक कार्यक्रमसँगै पुस्तकमाथि छलफल कार्यक्रम पनि रहेको छ । जसलाई संयोजन गर्नेछन् नेपाली चलचित्रका महानायक राजेश हमालले । 

त्यस्तै शनिबार नै वरिष्ठ नेपाली साहित्यकार इन्द्रबहादुर राईको सम्झनामा ‘अझै रमिता छ’ नामको सत्र राखिएको छ । यस कार्यक्रममा मञ्जुश्री थापा र कृष्ण धरावसी वक्ता रहेका छन् भने केदार शर्मा प्रस्तोता रहेका छन् । क्यानडामा बसेर विश्व साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी थापाले स्वर्गीय इन्द्रबहादुर राईको बहुचर्चित पुस्तक ‘आज रमिता छ’ को अंग्रेजी अनुवाद(दियर इज अ कार्निभल टुडे) गरेकी छिन् ।  

त्यस्तै शनिबार नै पोखरेली साहित्यकारहरु सरुभक्त, गनेस पौडेल र तीर्थ गुरुङसँग समालोचक कुमारी लामाले ‘पागल बस्ती पछिको पोखरेली आख्यान’ का बारेमा छलफल चलाउँदैछिन् । त्यस्तै महोत्सवको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्ले र स्तम्भकार तथा लेखक खगेन्द्र संग्रौलाबीचमा सम्पादक र स्तम्भकारका विषयमा चर्चा परिचर्चा हुनेछ । त्यसै समयमा अर्कातर्फ कुन्द दीक्षितले ‘रेड बर्ड्स’ नाम दिइएको सत्रमा पाकिस्तानी लेखक मोहम्मद हनिफसँग अन्तरक्रिया गर्नेछन् ।  

शनिबारको अन्तिम कार्यक्रम रहेको छ ‘ठाडै ठट्टा’ अर्थात स्ट्याण्ड अप कमेडी । जसमा सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले ठाडै ठट्टा गरेर सहभागीहरुलाई मनोरञ्जन दिनेछन् ।  

पोखराको लेकसाइडमा रहेको तालवाराही चोकमा हुने महोत्सव भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई ठाउँमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *