बङ्गलादेशमा आज निर्वाचन: निर्वाचन क्रममा झडप हुँदा २ को मृत्यु

पुस १५, ढाका । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो । “गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ,” स्थानिय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले एएफपीसँग बताए । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाई छ । “उनको अस्पतालमा लैँजादै गर्दा बाटोमै मृत्यु भएको हो,” स्थानिय प्रहरी प्रमख जाजिबुल इस्लामले बताए ।  

लामो प्रतिपक्षीपछि भएको निर्वाचन अन्तर्गत बङ्गलादेशमा स्थानीय समयानुसार आइतबार विहान आठ बजे मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम जारी रहेको जनाइएको छ । 

null

अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । बिगत केहि दिन देखि हिंसात्मक घटनाहरु बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ । सुरक्षाकर्र्मीहरुलाई बिभिन्न समूह तथा तहका बिभाजन गरेर मतदान केन्द्र देखि गाँउगाउँ सम्म खटाइएको छ । यस पटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र अरु हजारौ घाइते भएका थिए । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेस्नल पार्टी (विएनपी) बिच प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएका छन् भने, विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल हुनुहुन्छ । ७३ वर्र्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुनुहुन्छ भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् । यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छन् । 

यसअघि दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए । तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ । 

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय तोकिएको र उनी अहिले जेलमा छिन् । बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाएका छैनन् । उनको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *