तोरी खेतीतर्फ आकर्षित हुँदै चितवनका किसान, पुरानै अवस्थामा फर्कने संकेत

 

मंसिर २९, भरतपुर । चितवनको तोरी पुरानै अवस्थामा फर्कने संकेत देखिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार तोरी खेतीतर्फ किसान थप आकर्षित भइरहेका छन् । चितवनमा तोरी को क्षेत्रफल बढिरहेको छ । उत्पादन पनि बढेकै छ । 

‘विगत ५ वर्षदेखि तोरीको क्षेत्रफल क्रमशः बढ्दै गएको छ’, कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले भने, ‘चितवनमा रोगका कारणले तोरी लगाउन छोडेका हुन्, तर पछिल्लो समय तोरीमा रोग देखिएको छैन, उत्पादन पनि बढिरहेकै छ । त्यसैले, किसान थप आकर्षित भएका हुन् ।’ 

null

कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा ४६ हजार ८९४ हेक्टर खेतीयोग्य जमिन छ । हाल ४४ हजार ३९१ हेक्टर क्षेत्रफलमा खेती गरिएको अनुमान ज्ञान केन्द्रले गरेको छ । 

यो वर्ष १२ हजार ४०० हेक्टरमा तोरीबाली लगाइएको छ । गत वर्ष १२ हजार २०० हेक्टरमा तोरी लगाइएको थियो । ज्ञान केन्द्रका प्रमुख श्रेष्ठका अनुसार यो वर्ष २०० हेक्टरमा तोरीको क्षेत्रफल बढेको अनुमान गरिएको छ । 

कार्यालयका अनुसार चितवनमा हिउँदे खेती गहुँ, फापर, मुसुरो, राजमा, मकैलगायतका अन्नबालीमा भन्दा तोरीबालीमा किसान आकर्षित भएका छन् । गत वर्ष चितवनमा १० हजार ४१३ मेट्रिक टन तोरी उत्पादन भएको थियो । 

‘बर्से्नि तोरीको क्षेत्रफल बढेको छ, त्यो अनुपातमा उत्पादन पनि बढिरहेकै छ’, प्रमुख श्रेष्ठले भने, ‘यतिबेला तोरी फुलेको छ, कुनै रोग देखिएको छैन, यसवर्ष पनि तोरीको उत्पादन बढ्ने संकेत देखिएको छ ।’ उनका अनुसार तोरीमा ‘लाइ’ लाग्ने गरेको थियो, तर अहिले त्यस्तो केही छैन, ढकमक्क फुलेका छन् । 

जिल्लामा तोरीको उत्पादन बढाउनका लागि प्रयोग गरिने माइक्रो न्युट्रियन सल्फर (सूक्ष्म खाद्य तत्व) सजिलै पाइन्छ । यसकारण पनि किसान थप आकर्षित भएका हुन् । 

कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले तुलनात्मकरुपमा अन्य बालीमा भन्दा तोरीमा बढी फाइदा हुने भएकाले किसान तोरीमा आकर्षित भएको बताए । उनले भने, ‘चितवनवासीले बजारको तेल रूचाउँदैनन्, बाध्यता भएर खाने कुरा छुट्टै छ, तर तोरी पेलेर शुद्ध तोरीको तेल खान खोज्छन्, त्यसैले दुई–चार कठ्ठा जग्गा हुनेले पनि तोरी रोपेका छन् ।’ 

दुई दशकअघिसम्म चितवनमा तोरी उत्पादनको परिमाण ठूलो थियो । जानकारहरुका अनुुसार आर्थिक वर्ष ०५२/५३ सालबाट तोरीको उत्पादन कम हुँदै गएको हो । तर, पछिल्लो समय फेरि वृद्धि हुन थालेको छ तोरीखेती । 

तोरी उत्पादन कम हुन थालेपछि तोरीखेतीमा देखिएको समस्याबारे अनुसन्धानहरु भएका थिए । ती अनुसन्धानले माटोमा तोरीका लागि चाहिने सूक्ष्म तत्व सल्फर, बोरोन र क्याल्सियमको कमी औँल्याइएको थियो । तर, पछिल्लो समय तोरीलाई चाहिने उपयुक्त माटो बनेको कृषि ज्ञान केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उत्पादन बढाउन जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङ रोकिनु आवश्यक रहेको उनी बताउँछन् । 

तोरीमा बजारको कुनै समस्या नभएको र मूल्य पनि बढी पर्ने हुनाले तोरीमा किसान आकर्षित भएका गीतानगरका किसान राजबहादुर भुजेल बताउँछन् । उनी भन्छन्, ‘शुद्ध तोरीको तेल आफूले खान पाइने र बिक्री गर्दा मूल्य बढी पर्ने अनि उत्पादन पनि बढी हुँदै आएको हुनाले तोरीमा किसान आकर्षित भइरहेका छन् ।’ किसानका अनुसार एक हेक्टरमा ११ क्विन्टल तोरी फल्छ । ८० देखि ९० दिनमा तोरी पाक्छ । 

नेपालका चितवन, बाँके, बर्दिया, पर्सालगायत तराईका जिल्लामा बढी तोरीखेती हुने गरेको छ । दुई दलीय प्रजातिको तोरी नेपालको पहाडी र समथर भूभागमा हुने गर्छ । यो नेपालको मुख्य तेलहन बाली पनि हो । 

नेपालमा तोरी दुई रंगका पाइन्छन् । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुन्छ । कालो तोरीमा २० देखि ३३ प्रतिशत तेल हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =