अब बन्ने धरहरामा इतिहास झल्कन्छः प्रधानमन्त्री ओली

पुस १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताए ।
null
नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उनले भने, “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकन कर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने बताए ।
“नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् । भूकम्पले नोक्सान भएका धेरै सम्पदास्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन ।”
पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको उनको भनाइ थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अत्याधुनिक सुविधा सम्पन्न धरहरा पुनःनिर्माणका क्रममा यसको मौलिकतालाई विशेष ध्यान दिइने जानकारी दिए ।








