आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा सो समुदायले मनाउने गरेको हो ।
नेपालमा गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको भनाई रहेको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइने गरेको छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको जनाएकी छन् ।
null
उनले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको जनाउँदै मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको जनाएकी छन् । उनले सन्देशमा यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यसै सन्दर्भमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन् ।