कांग्रेस महासमिति संविधानअनुसार नयाँ संरचनाको बाटो तय गर्दै सकियो, पाँच प्रस्ताव पारित

काठमाडौं।  नेपाली कांग्रेसको महासमिति बैठक संविधानअनुसार नयाँ संरचनाको बाटो तय गर्दै सकिएको छ ।कांग्रेसले संघीय संरचनाअनुसार पार्टीको विधान पारित गर्दै महासमिति बैठक समापन गरेको हो । योसँगै कांग्रेस अब संघीय स्वरूपमा प्रवेश गरेको छ ।  

संशोधित विधान पारित भएसँगै कांग्रेसको संरचना केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको भएको छ । महासमिति बैठकबाट विधानसहित आर्थिक दृष्टिकोणसहितको आगामी नीति, राजनीतिक दस्तावेज, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन गरी पाँच प्रस्ताव परिमार्जनसहित सर्वसम्मत पारित भएको हो । महासमिति बैठक गत २९ मंसिरदेखि सुरु भएको थियो ।आजको राजधानी दैनिकमा खबर छ ।  

महासमितिबाट पारित विधानअनुसार कांग्रेसमा सभापतिसहित १४ पदाधिकारी रहनेछन् । जसअनुसार एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ जना रहनेछन् । 

null

विधानमा कोषाध्यक्षबाहेकका सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले केन्द्रीय समितिमा सिफारिस गर्नेछन् । सहमहामन्त्री संवैधानिक व्यवस्थाअनुसार फरक फरक क्लस्टर र समूहबाट निर्वाचित हुने गरी व्यवस्था गरिएको छ । 

सहमहामन्त्रीमा फरक फरक क्लस्टरबाट प्रतिनिधित्व गराउँदा महिला, जनजाति, दलित, मुस्लिम, मधेसी, खस आर्य, थारू र अल्पसंख्यक गरी आठ जना पु¥याइएको हो । 

यसैगरी, महासमिति बैठकमार्फत पारित भएको विधानमा कांग्रेसको दुई प्रकारको सदस्यता कायम भएको छ । जसअनुसार सदस्य र क्रियाशील सदस्य गरी दुई प्रकारको सदस्यता कायम हुनेछ । 

कांग्रेसको केन्द्रीय समितिसमेत नयाँ विधानमा १६७ सदस्यीय कायम भएको छ । पुरानो विधानमा कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय थियो । सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने गरी विधानमा व्यवस्था गरिएको छ ।संशोधित विधानअनुसार कांग्रेसमा निर्वाचित पदाधिकारी १३ जना, समावेशी सिद्धान्तका आधारमा निर्वाचित ५४ जना सदस्य, खुला प्रतिस्पर्धाबाट ३५ जना र महिलाबाट ९ जना सदस्य रहनेछन् । 

त्यसैगरी, सभापतिले मनोनीत गर्ने ३३ जना सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाका दरले निर्वाचित २१ जना तथा पेसाकर्मी र विपन्न वर्गबाट एक÷एक जनाका दरले दुई जना गरी १६७ जनाको केन्द्रीय समिति तय भएको हो । 

नेता अर्जुननरसिंह केसीले समावेशी स्वरूपलाई व्यवस्थित गर्न केन्द्रीय समितिको आकार बढाइएको बताए । उनले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था पार्टीको समग्र एकता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र सामूहिक नेतृत्व पद्धतिमा ऐतिहासिक उपलब्धि भएको बताए । 

पार्टीले बनाएको विधान समितिले विधानमा राख्ने व्यवस्थामा सहमति जुटाउन नसकेपछि विभिन्न विकल्पसहितको विधानको मस्यौदा कांग्रेस केन्द्रीय समितिमा पठाएको थियो । तर, गत ९ मंसिरबाट विधानमाथि भएको कांग्रेस केन्द्रीय समिति बैठकको छलफलले समेत विधानलाई टुंग्याउन सकेको थिएन । विधानमा रहेका कतिपय प्रावधानमा देखिएको विवाद महासमितिसम्म आएको थियो । 

महासमिति सुरु भएपछि समेत नेताहरू दर्जनौं पटक विधानमाथि छलफल गर्न भन्दै बन्द सत्र रोकेरै छलफलमा बसेका थिए । १४ पदाधिकारीको व्यवस्थासँगै विधानको मूल विवाद सकिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *