कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी । 

झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो । 

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे । प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें । प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो । 

null

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किदैनथी । 

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरुलाई जहाँ पनि जान छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी । यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरुसँग ।००० 

“हैन, मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! 

रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे । एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका थिए। 

रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्, “फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !”०००भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन, मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! ….फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे । 

“तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !” 

“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन यी आर्मी बोकाहरु । ठिक्क पर्यो त्यसलाई ! अस्ती मसँग मुखमुखे लाग्दै थिई वेश्या ! ।” 

“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो । 

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो । 

अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई । 

“ए ! के भो तलाई” 

“केही भा’को छैन मम्मी !” 

“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ । 

छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई । भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् । 

रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् ।“को हो त्यो ?”“अरुण”रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् । सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनिहरु पनि मौन थिए ।०००ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउँको निहुँर्याएर सबै सुन्दै थिईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *