विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी

काठमाडौं । सरकारले विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ। गैरकानुनी रुपमा यी दुई कलेजले स्विकृती पाएको भन्दै सरकारले खारेज गर्ने तयारी गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको दवावमा दिएको सम्बन्धन खारेज गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । 

अहिले कलेजको मापदण्ड, पूर्वाधार, कानुनी प्रक्रिया लगायतका विषयमा छलफल भइसकेको र यी विषय अध्यनपछि निर्णय गर्ने तयारीमा सरकार रहेको छ । 

null

विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र कार्की लोकमानसिंह कार्कीका भाइ हुन्। 

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले देवदहलाई सम्बन्धन दिन दबाब दिएका थिए। तर सरकार परिवर्तनसँगै रोकिएको सम्बन्धन २०७१ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला विदेश गएको समयमा सिनेट बैठक बसी काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रमका नाममा यी दुई कलेजलाई मेडिकल कलेज सञ्चालनको स्विकृती दिएको थियो। 

यो विषयमा डाक्टर गोविन्द केसीले समेत विरोध गर्दै अनसन बसेका थिए। सरकारले उनको माग पुरा गर्ने सम्झौता गरिसकेको छ। 

डा केसीको माग अनुसार गठन भएको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले यी दुई कलेजको सम्बन्धन प्रकरणमा दोषी देखिएकालाई कारबाही सिफारिस गरेको छ। 

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सम्बन्धन दिने समयमा खटिएका टोलीले झुटो विवरण दिएर मेडिकल कलेज सञ्चालनका लागि सिफारिस गरेका कारण उनीहरु सबैलाई कारबाही सिफारिस गरेको छ। 

आयोगले सम्बन्धन दिन सकिने राय सहितको प्रतिवेदन दिने सबै पदाधिकारीलाई आगामी ५ वर्षसम्म सरकारी र अर्धसरकारी निकायका पदमा नियुक्ति नगर्न सरकारलाई सुझाव समेत दिएको छ। 

प्रतिवेदन अनुसार, देवदह मेडिकल कलेजको एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता निरीक्षण गर्नेमा डा सिडी चावला र प्रा श्यामसुन्दर मल्लले कलेज सञ्चालन गर्न मिल्ने सिफारिस गरेका थिए। 

आयोगले केयूका उपकुलपति डा रामकण्ठ माकाजुले भौतिक पूर्वाधार, फ्याकल्टी लगायतका पक्षमा ख्याल नगरी नियमावली नै संशोधन गरी सम्बन्धन दिने नियतले विस्तारित कार्यक्रमका नाममा सञ्चालन अनुमति दिएको भन्दै उनलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *