भ्यूटावरले जहाज उडानमा अवरोध, महानगरले वेवास्ता गरेको खुलासा

मंसिर १०, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–३ दुधफारममा निर्माणका लागि शिलन्यास गरिएको भ्यूटावरले विमानस्थलमा अवतरण हुने जहाजका लागि अवरोध पुर्याउने देखिएको छ । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्तिक १८ गते शिलन्यास गरेको भ्यूटावर विमानस्थलको एयर दुरीभित्र पर्ने भएको हो । 

एयर ट्राफिकिङ्गलाई असर पार्ने गरि महानगरको योजनामा बन्ने भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ । विमानस्थलको एयर दुरीभित्र पर्ने भएकोले जहाज अवतरणमा असजिलो हुने यो क्षेत्र उत्तर–पूर्वी भागमा पर्दछ । 

null

 

जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण मानिन्छ । ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदुरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाको भनाइ छ । 

ठूला जहाज अवतरणमा आवश्यक एयरदुरी भित्र पर्ने यो भ्यूटावर निर्माणको विषयमा महानगरले प्राधिकरणले गरेको पत्राचारलाई समेत बेवास्ता गरेको प्रमुख सिटौला दाबी गर्छन् । ठूला जहाजले ४–५ नटिकल (१ नटिकल माइलमा १८५० मिटर हुन्छ) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । भ्यूटावर बन्ने स्थान र विमानस्थलको दुरी एककिलोमिटर भित्रै पर्दछ । 

 

नागरिक उड्डयन कार्यालयले एयर ट्राफिकिङ्गको समस्याबारे जानकारी गराउँदा समेत महानगरले भने १ सय १० मिटर उचाईको संरचनामा बनाउन शिलन्यास गरेको हो । विमानस्थलको पेरीफेरीमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधानलाई मिचेर महानगरका प्रमुख तथा त्यहाँका इन्जिनियर समेतले गलत मनसायमा भ्यू टावर निर्माणको काम बढाउने तयारी थालेका हुन् । 

विमानस्थल पेरिफेरीमा निर्माण हुन लागेको भ्यू टावरको काम तत्काल रोकिनुपर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ भने दिएको छैन । 

 

विमानस्थल विस्तार तथा स्तरोन्नतीको तयारीमा रहेका बेला महानरपालिकाले बनाउने भनिएको भ्यू टावर चुनौतीको रुपमा थपिएको हो । अन्तरदेशीय उडान भर्नेगरि विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यहि पेरिफेरीमा भ्युटावरको शिलन्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई अफ्ठ्यारो परेको प्रमुख सिटौला बताउँछन् । 

महानगरले भ्यू टावर बनाउने भनेर विमानस्थल प्रशासनलाई जानकारी दिँदै असर गर्ने या नगर्ने भनि सोधेको समेत थियो । विमानस्थलले एयर ट्राफिकमा असर पुग्ने भएको जानकारी कार्यालयले दिएपनि महानगरले भने आसपासको क्षेत्रमा भ्यूटावर निर्माणको लागि शिलन्यास गरेर काम थालिएको बताउँदै आएको छ । 

 

विमानस्थल नजिकै रहेको यो क्षेत्रमा विमान अवतरण हुँदै नजिकै आईसकेको हुन्छ । त्यसकारण यो टावर बनेपनि विमानस्थलमा जहाज अवतरण गर्नै सकिँदैन । ‘पूर्व–संभाव्यता र यकिन संभाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि महानगरले नै भ्यूटावर निर्माण गर्न लागेको विषयमा समेत थप चुनौती हुने देखिएको छ । प्रमुख सिटौलाले भने ‘कानुन र मापदण्ड विपरित बन्ने संरचना कुन तरिकाले शिलन्यास गरियो ।’ 

 

महानगरका प्रमुख पराजुलीले भने आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनि पहिले नै बुझेको बताउँदै असर नगर्नेमा ढु्क्क रहेको दावी गरे । उनले आफूले प्राविधिक तथा विज्ञसँग समेत परामर्श गर्दा जहाज उड्ने र बस्ने क्षेत्रभित्र नपर्ने भएकोले समस्या नहुने जिकीर गरे । 

‘हामी डिपिआरको तयारीमा छौं । यसले नागरिक उड्डयन प्राधिकरणको कुरालाई पनि एडजष्ट गर्र्छ । हामी अहिले इनिसियल फेजमा छौँ यसो हुँदा मान्छेको बुझाई त्यो हुन सक्छ तर हामीले बनाउने भ्यूटावर कुनैपनि किसिमले प्राविधिक हिसावमा पनि उडानलाई समस्या नहुने गरि छलफल गरेर अगाडी बढाउँछौँ ’, उनले भने ।  

महानगर प्रमुख पराजुलीले भविष्यमा यसले कुनैपनि समस्या नल्याउने दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *