निर्मला हत्याका सय दिनः अनुसन्धान जारी, उपलब्धि शून्य

कात्तिक १६, काठमाडौँ । निर्मला पन्तको हत्या भएको शुक्रबारबाट सय दिन पुरा भएको छ । बलात्कारपछि हत्या भएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको सय दिन पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकिरहेको छैन । 

सरसर्ती घटनाक्रम केलाउने हो भने निर्मला पन्तको हत्या भएको सय दिन न्याय खोज्दैमा बितेको छ । निर्मलाका निम्ति न्याय खोज्दै बालबालिका देखि वृद्धवृद्धा सम्म सडकमा उर्लिदा पनि उपलब्धि शून्य देखिएको छ । 

अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ । सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको निर्मलाका बाबु आमाको दाबी छ । सय दिन सम्म आइपुग्दा घटनामा कति निर्दोष घाइते बने, कोही मारिए त कोही निर्दोषले सजाय भोग्नु पर्यो । 

null

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको र सबै प्रमाण नष्ट गर्ने काम गरेको भन्दै चौतर्फी आलोचना खेप्याे। 

प्रहरीले घटनामा संलग्नता रहेको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको थियो। तर डिएनए परिक्षण नमिलेपछि उनी अहिले हिरासत मुक्त भइसकेका छन् । 

उच्चस्तरीय छानविन समितिले पनि प्रहरीकै लापरबाही भएको निष्कर्ष निकाल्यो तर घटना अनुसन्धानलाई कता मोड्ने भन्ने निष्कर्ष निकाल्न सकेन । 

शंकाका घेरामा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको डिएनए परिक्षण समेत गरियाे । तर निर्मलाको योनीको ‘भेजिनल स्वाब’ मा भएको वीर्यसँग एसपी विष्टसहित ३ नै जनाको डिएनए मेल खाएन । 

घटनाको अनुसन्धानका लागि सरकारले थुप्रै समिति पनि गठन गरेको छ । तर ति समितिहरुले गरेको अनुसन्धानले पनि निर्मलाका हत्याराको पहिचान गर्न सकेकाे छैन । 

घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ भने केही प्रहरी अधिकारीहरु निलम्बित भएका छन् । 

प्रहरीले अनुसन्धानकै क्रममा थप चारको डीएनए परीक्षण गरिरहेको जनाएको छ । उनीहरुको नाम भने गोप्य राखिएको छ। 

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको साउन ११ गते निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो। उनको साउन १० गते नै बलात्कारपछि हत्या भएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *