२६ बुँदे माग लिएर नेपाल शिक्षक महासंघ आन्दोलित

मंसिर १, भरतपुर । शिशु शिक्षिकाहरुलाई दरबन्दी र तलब स्केललगायतका २६ बुँदे माग लिएर नेपाल शिक्षक महासंघ यतिबेला आन्दोलित भएको छ । चरणबद्ध आन्दोलनका विभिन्न कार्यक्रम पार गर्दै नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन सञ्चालन गरेको छ । 

तेस्रो चरणका कार्यक्रमअन्तर्गत देशभरका जिल्ला समन्वय समितिमा शिक्षक महासंघले दिनभर धर्ना दिएको छ । 

‘शिशु शिक्षिका बढी पीडित छन्, ६ हजार तलब खाएर उनीहरु दिनभर ससाना बालबालिकालाई पढाउँछन्’, महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले भने, ‘शिशु शिक्षिकाहरु १० वर्षदेखि पीडित छन्, उनीहरुलाई न्याय दिनुपर्दैन ? ६ हजारले कसरी उनीहरुले आफ्नो जीवन चलाउँछन् ?’ सहअध्यक्ष दवाडीले शिशु शिक्षिकाहरुलाई दरबन्दी दिएर राखिनुपर्ने बताए । 

null

उनका अनुसार देशभरिमा २४ हजारभन्दा बढी शिशु शिक्षिकाहरु यतिबेला पीडित छन् । 

अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको नतिजा छिटो निकाल्न महासंघले आग्रह गरेको छ । यसैगरी, स्थानीय तहमा शिक्षक–कर्मचारीमाथि अनधिकृत ढंगले स्थानीय सरकारद्वारा शैक्षिक आतंक सिर्जना गरेपछि आफूहरु आन्दोलनमा जानुपरेको महासंघका सचिव धु्रवराज पोख्रेलले बताए । उनले भने, ‘शिक्षा क्षेत्र स्थानीय सरकारको एकाधिकार बनाइनु हुँदैन, यसलाई प्रदेश र केन्द्रको साझा अधिकारभित्र राखिनुपर्छ ।’ 

महासंघले प्रथम चरणका आन्दोलनका कार्यक्रमअन्तर्गत प्रचारात्मक आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणमा अन्तक्र्रिया र लबिङका कार्यक्रम भएको थियो । तेस्रो चरणमा विरोधसहित धर्ना कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि पूर्ण पुरीले जानकारी दिए । 

महासंघले शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगका रुपमा गठन गर्नुपर्ने माग गरेको छ । संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई तीनवटै तहको सरकारहरुको संयुक्त कार्यसूचीमा राख्नुपर्ने माग महासंघले अघि सार्दै आएको उनको भनाइ छ । 

विद्यालय तहमा रिक्त रहन गएको सम्पूर्ण शिक्षक दरबन्दी मिलान हुनुपर्ने शिक्षक महासंघको भनाइ छ । राहत शिक्षक कमल खनालले वर्षौदेखि राहत शिक्षकहरु पीडित रहेको बताए । उनले भने, ‘राहत शिक्षकहरुको व्यवस्थापन हुन सकेको छैन, सरकार राहत शिक्षकको समस्या समाधान नगरी कानमा तेल हालेर बसेको छ ।’ 

शिक्षा मन्त्रालय र महासंघबीच विगतमा गठन भई कार्यान्वयनमा आएको शैक्षिक संवाद समन्वय समितिलाई सबै तहमा गठन गरी सक्रिय बनाउनुपर्ने, साविकको पूर्वप्राथमिक तहका तथा प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षकहरुको दरबन्दी सिर्जना गरी सेवा, सर्त र सुविधाको सुनिश्चितता गर्नुपर्ने माग महासंघले अघि सारेको छ । 

सरकारी अनुदानबाट तलब पाउने अस्थायी, राहत, इसिडी, तत्कालीन उमाविका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई पोशाक भत्ता तथा दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरुको स्थानीय भत्ता र थप पोशाक भत्ताका लागि यसै आर्थिक वर्षको बजेटबाट प्रबन्ध गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ । 

कम्तीमा एक दशक एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुको सामूहिक पदोन्नति तथा शिक्षकहरुको तहगत बढुवाको प्रबन्ध गर्नुपर्ने, तत्कालीन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दी प्रबन्ध गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने महासंघको माग छ । माग पूरा नभए मंसिर २१ गतेदेखि काठमाडौँ जाऔँ अभियान चलाउने महासंघका सचिव पोख्रेलले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *