फूूलमा बनेन आत्मानिर्भर, घट्दै छ आयात

काठमाडौं । धार्मिक एवम् सांस्कृतिक रूपले नेपाल धनी रहे पनि मठमन्दिर, शुभकार्य, चाडपर्वका बेला प्रयोग हुने फूलमा भने अझै आत्मनिर्भर बन्न सकेको छैन । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार वार्षिक रूपमा नेपालले करोडौं मूल्यको फूल आयात गर्दै आएको छ । 

पछिल्लो तथ्याङ्कले त्यस्तो आयात घट्दै गएको देखाएको छ । गत आर्थिक वर्ष (आव)मा मात्रै रू. ११ करोडको फूल आयात भएको देखिन्छ । फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा भारत, थाइल्याण्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायत मुलुकबाट आयात भइरहेको छ । 

एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले पुष्प व्यवसायमा सरकारी लगानी कमजोर हुँदा परनिर्भरता कम गर्न व्यवसायीलाई हम्मेहम्मे परेको बताए । 

null

वार्षिक रूपमा फूलको माग १०/१५ प्रतिशतले बढ्दै गएको एशोसिएशनको तथ्याङ्क छ । पुष्प व्यवसायमा हालसम्म ६ अर्बबराबरको लगानी भए पनि यसको प्रवर्द्धनमा सरकार उदासीन रहेको महासचिव पोखरेलको भनाइ छ । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६९ सालमा ‘पुष्प प्रवर्द्धन नीति’ सरकारले ल्याए पनि प्रभावकारी हुन नसकेको उनी बताउँछन् । ‘सरकारले लिएको नीतिअनुसार ५ वर्षे कार्ययोजना बन्यो । तर, त्यहाँ रहेका स्टेकहोल्डरले राम्रो काम गरेनन् । यसबाट पुष्प व्यवसाय प्रवर्द्धन हुन सकेन,’ पोखरेलले भने । हाल नेपाल फ्लोरिकल्चर एसोसिएशनमा ७ सय पुष्प व्यवसायी आबद्ध छन् । 

तिहारमा २२ लाख मालातिहारलाई ‘फूलको पर्व’ पनि भन्ने गरिन्छ । घर सिँगार्न र दाजुभाइ दिदीबहिनीलाई लगाइदिन फूल, मालाको अत्यधिक माग हुने गरेको छ । गतवर्ष १५ लाख मालाको माग भएकोमा यस वर्ष २२ लाख मालाको माग रहेको छ । यसपालिको तिहारसम्ममा १५ लाख सयपत्रीका र ७ लाख मखमलीका माला बजारमा पुग्ने उनी बताउँछन् । 

महासचिव पोखरेलका अनुसार तिहारमा प्रयोग हुने मखमलीको मालामा नेपाल आत्मनिर्भर छ । उनले भने, ‘मखमली र गोदावरी फूल उत्पादनमा हामीले माग धान्ने गरेका छौं ।’ 

मुख्यतः सयपत्री र गुलाफको फूल भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपरेको छ । उनका अनुसार वार्षिक रूपमा ११ लाख सयपत्री फूलका गुच्छा बाहिरबाट आयात हुने गरेको छ । 

अहिले गोदावरीको माला सरदर १ सय ५० मा विक्री हुने गरेको छ । अन्य फूलको साधारण मालालाई भने बजारमा न्यूनतम रू. २५ मा विक्री गर्ने गरिएको छ । थोकमूल्य कम्तीमा ५० रुपैयाँ तोकिँदा उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्नेछ । 

गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा माला किनमेल भएको थियो । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गरेको महासचिव पोखरेल बताउँछन् । -अभियान 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *