चितवन केरा र मौरीपालनको जोन

भरतपुर, मंसिर ४ । चितवन जिल्लामा सोमबारदेखि केरा र मौरी जोन कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइले चितवनमा केरा र मौरी जोन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
अब चितवनमा केरा, मौरी र तरकारीको तिनवटा जोन कार्यक्रम चल्ने छ । परियोजना कार्यान्वयन ईकाइ मौरी जोनका बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले सोमबार दुबै जोनका वर्षभरिका कार्यक्रम प्रस्तुत गरेका थिए । उनले २०७५/७६ को केरा र मौरी जोनको कुल बजेट २ करोड २४ लाख सार्वजनिक गरेका थिए । केरा र मौरी जोनको कार्यक्रमको मात्र बजेट १ करोड ३६ लाख रहेको उनले बताए ।
चितवनको केरा जोनमा भरतपुर महानगरको वडा नं १, रत्ननगर नगरपालिकाका सबै वडा, खैरहनी नगरपालिकाका सबै वडा र कालिका नगरपालिकाको वडा नं १ देखि ८ सम्म परेका छन् । यसैगरी, चितवनको मौरी जोनमा कालिका नगरपालिकाको ९, १०, ११, राप्ती नगरपालिकाको १ देखि ६ वडासम्म, खैरहनी नगरपालिकाको ४, १० र ११ वडा परेका छन् ।
null
मौरी जोनमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिकाको ६ नं वडासमेत परेको छ । ‘केरा र मौरी जोनका कार्यक्रम अब सुरू भएको छ, प्रशोधन केन्द्र खोल्ने गरी कार्यक्रमहरु अघि बढ्छन्’, परियोजना कार्यान्वयन ईकाइ मौरी जोनका बरिष्ठ कृषि अधिकृत तिमिल्सिनाले भने । उनका अनुसार नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन जोन कार्यक्रम आएको हो । उनले भने, ‘आज जोनमा जाँदै छौँ, हामी भोलि सुपर जोनमा जाने गरी अघि बढ्ने छौँ, किसानलाई त्यही अनुसार अघि बढाउँछौँ ।’
किसानहरुले जुन क्षेत्रमा उत्पादन बढी हुन्छ त्यही क्षेत्र जोनमा नपरेको गुनासो गरेका छन् । नेपाल मौरीपालन महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले मौरी धेरै उत्पादन हुने ठाउँ जोनमा नपरेको गुनासो गरे । उनले भने, ‘नेपालमै सबैभन्दा बढी मह उत्पादन हुने कालिका नगरपालिकाको वडा नं ६ हो । त्यो वडा मौरी जोनमा छैन । जुन वडामा एक घार मौरी छैन त्यो वडा जोनमा परेको छ ।’
उनको भनाइअनुसार अहिले परेको मौरी जोनमा गणना गर्ने हो भने २० हजार गोला पनि पुग्दैन । मह उत्पादन हुने ८० प्रतिशत क्षेत्र मौरी जोनमा परेका छैनन् । नेपालमा ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् ।
त्यस्तै, केरा किसानहरुले केरा जोनमा पश्चिम चितवनका क्षेत्रहरु नपरेकोमा गुनासो गरेका छन् । केरा जोनमा सबै पूर्वी क्षेत्रमात्र परेको र भरतपुर महानगरका पश्चिमी क्षेत्र दिव्यनगर, जगतपुर, गीतानगरलगायतका भागहरु नसमेटिएको केरा किसानले गुनासो गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले उत्पादन बढी हुने तर जोनमा नपरेका ठाउँहरुलाई आगामी वर्षहरुमा समेटिएर क्षेत्र बिस्तार गर्न सकिने बताए । उनले भने, ‘जोनमा परेका वडाहरुलाई उत्पादन भएको छैन भनेर हटाउन मिल्दैन, तर उत्पादन भएका वडाहरुलाई थपेर क्षेत्र बिस्तार गर्न सकिन्छ ।’
केरा जोनका कृषि अधिकृत ईन्द्र शर्मा ढुंगानाले जोनमा नसमेटिएका र उत्पादन बढी भएका क्षेत्रहरुलाई ब्लक, पकेट एरिया बनाउन सकिने बताए ।








