समाजकाे डरले अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु

  

कात्तिक, ७ कुश्मा ।फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी सङ्क्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन् । 

 उनी आफ्ना कारण नभई आफ्ना अभिभावक (बुवा/आमा) का कारण एचआइभी/एड्स सङ्क्रमित भएका हुन् । हाल एचआइभी सङ्क्रमणकै कारण उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । परिवारमा बाँकी रहेकी एउटी दिदीको पनि दुई वर्ष अघि विवाह भइसकेको छ । दिदी भने एचआइभी सङ्क्रमित होइनन् । समाजले एचआइभी सङ्क्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेका कारण जिल्लामा आफू लगायतका थुप्रै सङ्क्रमितहरु खुल्न नसकेको उनले बताए । 

null

यस्तै, फलेवास नगरपालिकाभित्रैका २९ वर्षका अर्का एक युवक पनि समाजले सङ्क्रमितहरुप्रति गर्ने व्यवहार पेचिलो भएका कारण आफू जस्तै साथीहरु खुल्न र सहज ढङ्गबाट प्रस्तुत हुन नसकेको बताउँछन् । अहिलेसम्म विवाह बन्धनमा नबाँधिएका उनको परिवारमा उनी मात्रै एचआइभी सङ्क्रमित हुन् । शुरुमा एचआइभी सङ्क्रमण छ भन्ने थाहा पाउँँदा आफू छाँगाबाट खसेजस्तै भएको उनी बताउँछन् । उनी भन्छन् – “शुरुमा त मैले आत्महत्या गर्ने प्रयास पनि गरेको थिएँ । पछि कम्युनिटी सर्पोट गु्रपले धेरै सहयोग गर्यो   र थप बाँच्ने प्रेरणा  भर्यो । अहिले म आफूलाई मात्र होइन म जस्तै अरुलाई पनि सम्झाउन सक्ने भएको छु ।” 

‘एचआइभी आफैंमा रोग होइन, यसले त रोगप्रतिरोधात्मक क्षमता कमजोर गराउने मात्र हो । पथपरहेजमा बस्न सक्यो र एआरटी नियमित प्रयोग गर्यो भने आयु लम्ब्याउन सकिन्छ । सङ्क्रमित भएपछि पनि मानिस ३०र४० आैँ वर्ष बाँच्न सक्छ ।’ उनले भने – “विगतमा हामी आफ्ना लागि मात्र बाँचेका थियौं तर अहिले जीवन के हो थाहा पायौं र अरुका लागि पनि केही गरौं भनेर बाँचिरहेका छौं ।” 

उनले आफू भारतको मिजोरम स्टेटमा रहेको र त्यहाँ केटी साथीहरुसँग खुल्ला यौन सम्पर्क गरेका कारण एचआइभी सङ्क्रमित भएको खुलासा गरे । उनले भने – “सत्र–अठार वर्षको उमेरमा ड्रक्स युज गर्ने केटी साथीहरुको सङ्गत थियो । उनीहरुमा सङ्क्रमण भएको मलाई थाहा भएन । खुल्ला यौन सम्पर्क गरें जसका कारण म आफैं सङ्क्रमित भएँ ।” समाजले आफूहरुप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार जबसम्म परिवर्तन हुँदैन तबसम्म सङ्क्रमितहरु खुल्न नसक्ने उनले दोहोर्याए । 

त्यस्तै, कुश्मा नगरपालिकाभित्रैका वर्ष ४० का एक पुरुष पनि एचआइभी सङ्क्रमित छन् । ऊ पनि खुलेर कुरा गर्न चाहँदैन । भारतमा काम गर्न गएको बेला उनले त्यहीँका स्थानीय महिलासँग विवाह गरेका थिए । पछि श्रीमतीले छाडेर हिँडे पछि उनी नेपाल फर्किए । सामान्य बिरामी भइरहने र बेहोस भइरहने समस्या उसमा पहिलेदेखि नै देखिइरहन्थ्यो । उनले गोर्खा माइत भएकी एक महिलासँग विवाह गरे । खुशीसाथ नयाँ जीवन सँगिनीसँग रमाइरहेका उसलाई विवाह गरेको सात महिना पछि एकाएक एचआइभी सङ्क्रमण भएको थाहा भयो । उनी छाँगाबाट खसे जस्तै भए । शुरुमा श्रीमतीलाई पनि बताउन सकेनन् । कहाँ जाउँ ? के गरुँ ? मरुँ वा बाँचु ? यस्तो तनावमा जीवन व्यतित गर्नपरेको उनी बताउँछन् । समय घर्किँदै गएपछि नबताएर पनि साध्य लागेन । विस्तारै सबै कुरा उनले श्रीमतीलाई बताए । श्रीमती एचआइभी सङ्क्रमित भने होइन ।यद्ययपी  तिनले नियमित स्वास्थ्य जाँच गराइरहेकी छन् । आफूले दायाँबायाँ यौन सम्पर्क नगर्ने गरेको भएपनि पहिलाको श्रीमतीबाट आफू सङ्क्रमित भएको हुनसक्ने उनको अनुमान छ । 

यी र यस्ता धेरै सङ्क्रमितहरुले कम्युनिटी सपोर्ट गु्रप पर्वतबाट सहयोग लिइरहेका छन् । तर उनीहरु सबै अझै पनि समाजमा खुल्न भने चाहिरहेका छैनन् । राज्यले सङ्क्रमितहरुका लागि केही न केही सहयोग उपलब्ध गराइरहेको छ भने विभिन्न सङ्घसंस्थाहरुले एचआइभी/एड्स सङ्क्रमितहरुको क्षेत्रमा काम गरिरहेका छन् । सबैमा चेतनाको स्तर धेरै माथि पुगिसकेको भए पनि समाजमा अझै सङ्क्रमितहरु खुल्न नसकेको अवस्था विद्यमान छ । 

सङ्क्रमितहरु खुल्ने वातावरण तयार गर्न राज्यस्तरबाट समुदायमा अझै थप चेतनामूलक कार्यक्रमहरु ल्याउन जरुरी भएको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले बताइन उनि भन्छिन“सङ्क्रमित भएपछि समाजले गर्ने हेला होचोका कारण उहाँहरु खुल्न नसक्नु भएको हो । हामीहरुले एचआइभी सङ्क्रमितहरुलाई अन्य मानिस सरह व्यवहार गर्न जरुरी छ ।” 

पर्वत जिल्लामा एचआइभी/एड्सको क्षेत्रमा काम गरिरहेको कम्युनिटी सपोर्ट गु्रपका कार्यक्रम संयोजक प्रेम केसीले दिएको जानकारी अनुसार हाल यस जिल्लामा १०७ एचआइभी सङ्क्रमित छन् । यसमा पुरुष ४८ र महिला ५९, १८ वर्ष मुनिका किशोर तीन र किशोरी चार जना छन् । सिएसजीको पछिल्लो तथ्याँक अनुसार अन्य जिल्लाबाट सेवा लिन आएका १७ जना, प्रवासी ८ जना र सेवा लिन छाडेका तीन जना छन् भने निरन्तर सेवा लिइरहेका ६९ जना छन् । सङ्क्रमितमध्ये ८ जनाको मृत्यु भइसकेको छ । 

उनका अनुसार अधिकाँश सेवाग्राहीहरु भारत तथा अन्य मुलुकमा रोजगारका लागि जाने क्रममा सङ्क्रमित हुने गरेको र उनीहरुबाटै श्रीमती तथा छोराछोरीलाई सङ्क्रमण हुने गरेको छ । अहिलेको तथ्याँक हेर्दा धेरैजसो दलित र विपन्न परिवारका सदस्यहरु एचआइभी सङ्क्रमणमा परेका छन् । 

पर्वत जिल्लामा एचआइभी/ एड्स सङ्क्रमितको सङ्ख्या विगत वर्षहरुको तुलनामा बढ्दै गएको छ । गु्रपले दिएको जानकारी अनुसार गत वर्ष १०३ जना सङ्क्रमित भएकामा यो वर्ष बढेर १०७ पुगेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी लिनेको सङ्ख्या भने लगभग त्यसको आधा मात्रै रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स फोकल पर्सन जनार्दन गिरीका अनुसार पर्वत जिल्लाको एआरटी सेन्टरबाट हाल ५६ जना सङ्क्रमितले मात्र एआरटी सेवन गरिरहेका छन् । केहीले छिमेकी जिल्लाहरुबाट पनि यो सेवा लिइरहेका छन् । रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *