बङ्गलापिताको पुस्तक नेपाली भाषामा

कार्तिक ५, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानद्वारा लिखित ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरू) नामक पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरेको छ ।  

बङ्गलादेश राष्ट्रका रुपमा स्थापित हुनुभन्दा अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा केन्द्रित उक्त पुस्तक हालै राजधानीमा बङ्गलादेश राजदूतावासद्वारा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमोचन गरे । कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले बङ्गलापिता रहमानको पुस्तकले धेरै कुराको ज्ञान दिने बताए ।  

रहमानले आफ्ना सङ्घर्षमय जीवनका पूर्वाधारका गाथाहरूलाई टिपोट गरी राखेको र त्यसलाई हाल बङ्गलादेशकी प्रधानमन्त्री तथा रहमानपुत्री शेख हसिना वाजेदको तत्परतामा पुस्तक प्रकाशित गरिएको उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित गरिएको जानकारी दिए ।  

null

कुलपति उप्रेतीले अनूदित तथा प्रकाशित पुस्तकको अनुवादमार्फत् नेपाल–बङ्गलादेश सांस्कृतिक एवम् साहित्यिक आदान प्रदान गर्ने पहिलो प्रयास भएको र यस कार्यले निरन्तरता पाउँदै जाने बताए ।  

नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते शाम्सले रहमानको उक्त पुस्तक सन् २०१२ मा पहिलो पटक बङ्गलाभाषामा प्रकाशित भएको उल्लेख गर्दै त्यसपछि अङ्ग्रेजी, वाइकिङ, उर्दू पछि नेपाली भाषामा अनूदित गरी प्रकाशित भएको र विश्वका लाखौँ पाठकले अत्यन्त रुचिपूर्वक ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरू) पढ्ने गरेको बताइन् । सन् १९४७ मा भारतबाट पाकिस्तान तथा सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग भएका थिए । 

कार्यक्रममा सार्कका महासचिव तथा परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा र भुवन ढुङ्गानाले पनि बोलेका थिए । पुस्तकको अनुवाद अर्जुनबहादुर थापा र महेश पौड्यालले गरेका छन् । पुस्तकमा प्राक्कथन, शेख मुजिबुर रहमानको जीवनी, राजनीतिक पृष्ठभूमि, अधुरा संस्मरणहरू, टिपोटहरूका साथै जीवनका टिपोटहरू समाविष्ट छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *