ह्यात्रुङ झरनाको अनुपम सौन्दर्य (फोटो फिचर)

कात्तिक ११, विराटगनर । स्वर्ग धर्तीमै छ भन्ने भनाइ सान्दर्भिक बनाएको छ तेह्रथुम जिल्ला स्थित ह्यात्रुङ झरनाले । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारबाट करिब ४५ किलो मिटरको दुरिमा पर्ने यो झरना हेर्दा पृथीवीमै स्वर्ग छ भन्ने आभास हुन्छ । 

अतिनै सुन्दर अनि रमणीय सो झरनामा पुग्न हाल स्वदेशी तथा विदेशी पर्यटकहरु आतुर बन्ने गरेका छन् । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर अग्लो एसियाकै सबैभन्दा लामो झरना ‘ह्यात्रुङ झरना’ पर्यटकहरुको गन्तव्य बनेको छ । सो गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको यस भरना हेर्नकै लागी पछिल्लो समय दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । 

 

null

पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस ह्यात्रुङ झरना दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित छ । यस ठाँउमा पर्यटकहरु रमणीय दृश्यावलोकन गर्न, फोटो खिच्ने तथा नुहाउन समेत आउने गरेका छन् । पहिलो पटक यस झरना घुम्न प्रदेश नम्बर १ को अस्थायी राजधानी रहेको मोरङको विराटनगरका श्रवण कुमार रिसिदेवले आफुलाई स्वर्गझैँ लागेको बताए । 

उनले विभिन्न पुस्तक तथा सञ्चार माध्यममा पढ्न र सुन्न पाएको भएपनि आफू सो स्थानमा पुग्दा बेग्लै अनुभुति भएको बताए । उनले भने ‘मैँले बाल्यकालमा किताबहरुमा पढेको थिएँ, ह्यात्रुङ झरना तेह्रथुममा छ भन्ने वास्तवमा यो स्थानमा आईपुग्दा स्वर्ग पुगेकै आभाष हुँदो रहेछ । निकै सुन्दर झरना वन जङ्गलले जो कोहिको मन लोभ्याउने यो झरना नेपालका अन्य प्राकृतिक सम्पत्तिहरु मध्येकै एक रहेछ । यो झरनाले तेह्रथुमकाे मात्र नभएर सिंगो नेपालको पहिचान राखेको छ । स्वर्ग कहाँ हुन्छ भन्दा यहाँ आएर आभास भएको छ ।’ 

 

प्राकृतिक रुपमा बनेको यो झरनामा दिनहुँ देखिने सप्तरङगी इन्द्रेणीको दृष्यले पर्यटकको मन लोभ्याउने गर्दछ । यो दृष्य हेर्नकै लागी टाढा टाढाबाट युवा देखी वृद्धाहरु समेत आउने गरेका छन् । अग्लो स्थानबाट झरेको ह्यात्रुङ झरना दृष्यावलोकनका लागि अाएका काभ्रेका असोक कुमार सिंहले सो झरना क्षेत्र नेपालका प्राकृतिक सम्पत्तिहरु मध्ये उत्कृष्ट रहेको बताउँदै यसको उचित संरक्षण सम्बर्द्धन गरिनुपर्ने बताए । उनले भने, ‘पहिला पहिला हामीले पत्रपत्रिकामा मात्र देख्न पाउँथ्यौँ तर वास्तविकतामा यहाँ आएर हेर्दा सोचे भन्दा बेग्लै किसिमको मनकमोहक र मनै आनन्दीत गराउने ठाउँ रहेछ झरना । यहाँ आइपुग्दा निकै रमाइलो लागेको छ । प्रकृतिसँग रमाउन र खेल्न पाउँदा मलाई बेग्लै अनुभुति भएको छ ।’ 

 

फेदाप गाउँपालिकाको ईसिवु र सम्दुको सिमानामा रहेको यो झरना हेर्नको लागी नेपालका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु र भारतलगायत तेस्रो मुलुकका बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ । 

यहाँ घुम्न आउनेहरु मध्ये अधिकांश नवजोडीहरु समेत पर्दछन् । मध्यपहाडी लोक मार्गको सम्दु सडक खण्ड बाट आधा घण्टाको पैदल दुरीमा पुग्न सकिने यो झरनाको प्रचार प्रसार र उचित व्यवस्थापन भने खासै नभएको पाईएको छ । निजी तथा सरकारी स्तरबाट व्यवस्थापनका लागी पहल नहुँदा पर्यटकिय महत्व बोकेको यो झरना ओझेलमा पर्दै जाने भएकाले यसको प्रर्वद्धनका लागी कार्ययोजना बनाईएको फेदाप गाउँपालिकाका प्रवक्ता नबिन चोङबाङले बताए । 

 

उनले सो क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि फेदाप गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याउन थालेको जानकारी दिए । उनले सो क्षेत्रको प्रवद्र्धन र विकासका लागि आर्थिक वर्ष २०७४/०७५ देखिनै बजेट विनियोजन गरिएको बताए । प्रवक्ता चोङबाङले उक्त बजेटबाट सो क्षेत्रको सडकको स्तरोन्नती गरिएको जानकारी दिए । उनले हाल सम्म गाउँपालिकाले ३० लाख रुपैयाँको लागतमा सडकको स्तरोन्नती गरेको बताए । 

 

प्राकृतिक अनुपम सुन्दरता बोकेको ह्यात्रुङ झरनामा बर्खायाममा पानीको स्रोत प्रशस्तै भएपनि हिउँदमा पानीको मात्रा कम हुने गरेकाले सो बेलामा समेत पानीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अझ झरनासम्म आवत जावतका लागि सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम प्रदेश तथा संघीय सरकारले ल्याउन सके वर्षेनी लाखौँ पर्यटक भित्र्याउन नसकिएला भन्न सकिन्नँ । त्यसर्थ यस तर्फ स्थानिय गाउँपालिका, प्रदेश तथा संघिय सरकारको ध्यान जान जरुरी छ । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *