नीतिगत भ्रष्टाचार रोक्न नसकेको भन्दै अख्तियारप्रति सांसदहरुको आक्रोश

काठमाडौं, साउन १७ । सांसदहरुले नीतिगत रुपमै बढ्दै गएको भ्रष्टाचारले संस्कार, संस्कृति र प्रणालीलाई नै ध्वस्त तुल्याउँदै गएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरीह बनेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको आजको बैठकमा बोल्ने सांसदहरुले अख्तियारको आलोचना गरेका हुन् ।

बैठकमा अख्तियारका प्रमुख आयुक्त दीप बस्नेतले भने अख्तियारले १ बर्ष भित्र गरेका उल्लेखनीय कामहरुको विवरण सुनाउनुभएको थियो । सांसदहरुले आयोग स्वयमकै गतिविधि नै बेलाबखत भ्रष्टाचारमा मुछिएका कारण यसको जनविश्वास घट्दै गएको भन्दै आलोचना गरेका थिए । एमाले नेता तथा सांसद झलनाथ खनालले शिक्षाजस्तो क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार हुनु लज्जाजनक विषय भएको टिप्पणी गर्नुभयो । आयोगको २०७२÷७३ को वार्षिक प्रतिवेदनमा क्षेत्रगत रुपमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी पाँच हजार ६ सय ७१ उल्लेख छ ।

सांसद अकवाल अहमद साहले संविधानले दिएको दायित्व पूरा गर्न आयोगका कामकारबाही तथा गतिविधि निष्पक्ष र जनताप्रति उत्तरदायी हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद चन्द्रेश्वर झाले आर्थिक वर्षको अन्त्यमा बजेट सकाउन लाखौँ लाखको भागबण्डामा बिल फछ्र्याेट गर्ने प्रवृत्तिलाई अब निरुत्साहित गर्न आयोगको कदमको अपेक्षा गरिएको बताउनुभयो ।

सांसद अनिता परियारले जनसम्पर्क बाक्लो हुने कार्यालयमै बढी भ्रष्टाचार हुने गरेको तथ्यांकले सुशासनको धज्जी उडाएको पक्षलाई आयोगले मनन गरेर त्यसै अनुरुपको कार्ययोजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको थियो । सांसदले उठाएको प्रश्नको जवाफ दिदै आयोगका प्रमुख दीप बस्नेतले ठूलो–सानो जस्तोसुकै अपराध गरे पनि आयोगले कसैलाई नछाड्ने अठोट व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *