एक करोड ९२ लाख राजश्व संकलन

पाल्पा, १७ साउन । आर्थिक वर्ष २०७३/७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ । आव २०७२/७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट रु एक करोड ६६ लाख ९१ हजार र ग्रामीण क्षेत्रबाट रु दुई लाख १३ हजार, रोक्का र सेवा शुल्कमार्फत रु २१ लाख २७ हजार, पँुर्जा बिक्रिबाट रु ४७ हजार र नामसारीबाट रु एक लाख ६५ हजार राजश्व असुल गरेको मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

रजिष्ट्रेशन शुल्क रु एक करोड ६९ लाख चार हजारमध्ये कार्यालयले रु २९ लाख ३६ हजार जिल्ला समन्वय समितिलाई, रु ८१ लख ३४ हजार रामपुर नगरपालिकालाई र बाँकी रु ५८ लाख ३३ हजार केन्द्रीय राजश्व कार्यालयमा दाखिला गरेको छ ।
मालपोत कार्यालयले यस वर्ष ग्रामीण क्षेत्रको १५४ र शहरी क्षेत्रको दुई हजार ४३९ लिखत गरेको छ । एक सय ८७ जनाको जग्गाको नामसारी, ३५ जनाको जग्गाको क्षेत्रफल संशोधन र १७ जनाको जग्गाको अदालतबाट दाखिला गरेको छ । गत आवदेखि मालपोत कार्यालय रामपुरले रामपुर नगरपालिकासहित बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र सिलुवाका सेवाग्राहीलाई सेवा प्रदान गर्दैआएको छ ।

यस्तै आव २०७२/७३ मा रु तीन करोड ७४ लाख ६० हजार राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालय तानसेनले आव २०७३/७४ मा रु चार करोड ६९ लाख ५९ हजार संकलन गरेको छ । नापी कार्यालयले आव २०७३/७४ मा रु सात लाख राजश्व संकलन गरेको छ । कार्यालयले नक्सा प्रिन्ट, ट्रेस र फिल्ड रेखाङ्कनमार्फत रु ६ लाख ९७ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२/७३ मा रु ५ लाख ११ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०७३/७४ मा रु एक लाख ८६ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले नक्सा ब्लु प्रिन्ट र नक्सा ट्रेस शुल्कमार्फत रु चार लाख ७७ हजार र फिल्ड रेखाङ्कनमार्फत रु दुई लाख २० हजार राजश्व संकलन गरेको नापी कार्यालयका निमित्त प्रमुख रामनाथ महतोले बताउनुभयो ।

विसं २०७१ मङ्सिरमा स्थापना भएको कार्यालयले हाल नक्सा प्रिन्ट, टेस, फिल्ड रेखाङ्कनलगायतका कार्य गर्दैआएको छ । कार्यालयले रामपुर, दर्छा, गाँडाकोट, खालीवन, गेझा, सहलकोट, झिरुवास, गल्धा, अर्चले, सिलुवाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *